हेटौँडा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, हेटौँडामा कार्यरत अधिकृत छैटौं अमृत भेटुवाल र लेखापढी व्यवसायी खगेन्द्र पौडेलविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । सवारी साधनको सरुवा सहमति मिलाइदिने भन्दै सेवाग्राहीसँग ११ हजार ५ सय रुपैयाँ घुस लिएको आरोपमा उनीहरूविरुद्ध बिहीबार काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

यसअघि हेटौंडास्थित अख्तियारको टोलीले फागुन १३ गते सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा लेखापढी व्यवसायी पौडेललाई नियन्त्रणमा लिएको थियो । सोही प्रकरणमा अधिकृत भेटुवाललाई समेत नियन्त्रणमा लिइएको थियो । दुवै जना हालसम्म अख्तियारकै नियन्त्रणमा रहेका छन् । अनुसन्धानका क्रममा भेटुवाल र पौडेलबीच आपसी मिलेमतो तथा पूर्वयोजनामै घुस लेनदेन भएको पुष्टि भएको आयोगको दावी छ । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ११ हजार ५ सय रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी गरिएको छ ।