हेटौँडा : हेटौँडा–७, नागस्वतीस्थित हेटौँडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र लेखा समिति संयोजक चयनका लागि शुक्रबार निर्वाचन भएको छ । नवज्योति माध्यमिक विद्यालय परिसरमा भएको निर्वाचनमा २ हजार ८ सय ८७ जनाले मतदान गरेका छन् । हेटौँडा बचतको सेयर सदस्य ६ हजार ९ सय ९३ जना छन् ।
शुक्रबार भएको निर्वाचनको मतगणना शनिबार बिहान ७ बजेदेखि हुने निर्वाचन संयोजक वीरेन्द्रप्रसाद ढुंगानाले जानकारी दिनुभएको छ । सहकारीको अध्यक्षमा राजु वाईबा र रामशरण गौतमको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा खडानन्द चौलागाई, दीपप्रसाद अधिकारी र सिताराम प्रधानको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा भीमसेन गौतम र मोनिका पौडेलको उम्मेदवारी परेको छ भने लेखा समिति संयोजकमा कविन पन्त र विष्णुप्रसाद अर्जेलको उम्मेदवारी परेको छ ।
यसअघि सचिवमा युवराज गौतम, सञ्चालक सदस्यमा ध्रुवकृष्ण कुँवर, उर्मिला चौलागाई, अम्बिका कार्की, सरस्वती थापा र विजेता सापकोटा सर्वसम्मत निर्वाचित भइसकेका छन् । लेखा समिति सदस्यमा सौरभ अधिकारी र कुसुम रिजाल चयन हुँदा ऋण उपसमिति सदस्यमा कृष्णप्रसाद दाहाल, भक्तबहादुर केसी पनि सर्वसम्मत चयन हुनुभएको छ ।











