हेटौंडा–६, गौरिटारस्थित राष्ट्रिय खेलकुद परिषद्को स्वामित्वमा रहेको गौरिटार रंगशालामा स्थापना गरिएको आइसोलेसन वार्ड ।


हेटौंडाः मकवानपुरमा आज १ सय ७२ जना आइसोलेसनमा बसेका छन् । कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामध्ये आज ४७ जना मकवानपुरको संस्थागत आइसोलेसनमा बसेका छन् भने १ सय २५ जना होम आइसोलेसनमा बसेका छन् ।

आज हेटौंडा–६ को गौरिटारको आइसोलेसन वार्डमा ३ महिला, ४१ पुरुष रहेका छन् । यस्तै मनहरी गाउँपालिकाको आइसोलेसन वार्डमा १ महिला, १ पुरुष छन् भने हेटौंडा–४ कर्रास्थित श्रमिक माविको आइसोलेसनमा १ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी राम केसिले बताउनुभयो ।

मकवानपुरमा कोरोना सङ्क्रमितहरु संस्थागत आइसोलसन भन्दा होम आइसोलेसनमा बढी बसेका छन् । होम आइसोलेसनमा बसेका सङ्क्रमितहरु हेटौंडा–४ कर्रास्थित आइसोलेसन वार्डमा गएर पुनः परिक्षण लागि स्वाब दिने गर्छन । आज मात्र मकवानपुरका १० जना होम आइसोलेसन बसेका सङ्क्रमितले पुनः परिक्षणको लागि स्वाब दिएका छन् । यद्यपि हेटौंडा–१० स्थित प्रादेशिक कोरोना प्रयोगशालाले भने गएको ४८ घण्टादेखि कुनै पनि रिपोर्ट सार्वजनिक गरेको छैन ।