नवनिर्वाचित ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ काठमाडौँ, ११ चैत: राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउनु हुँदै । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुनुहुन्छ । तस्बिरः तस्बिरः रत्न श्रेष्ठ/रासस

हेटौँडा : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार भएको कार्यक्रममा ७८ वर्षीय केसीले पद तथा गोपनीयताको शपथ लिनुभयो । गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा निर्वाचित २७५ सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुनुहुन्छ ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभामा प्रत्यक्षबाट १६५ र समानुपातिकतर्फबाट ११० जना निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सांसद केसी समानुपातिकतर्फबाट निर्वाचित हुनुभएको हो । ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई भोलि बिहीवार पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ । सांसदहरूले शपथ लिएको भोलिपल्ट अर्थात् १३ गते शुक्रवार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीको शपथ लिनु हुनेछ ।