भौगोलिक अवस्था र हावापानीमा विविधता पाइने नेपाल विभिन्न प्रकारका प्राकृतिक प्रकोपको जोखिमयुक्त देश हो । मनसुनी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा कटानको जोखिम अत्यधिक हुने गर्दछ । चट्याङ, हावाहुरी, असिना, हिमपातजस्ता विपद्जन्य जोखिम पनि उत्तिकै छ । भूकम्पीय जोखिमका आधारमा पनि नेपाल विश्वमै अग्रणी स्थानमा रहेको छ । धेरै प्रकारका प्राकृतिक घटनाको जोखिमपूर्ण रहेको नेपालमा प्रकोप र यसबाट निम्तने विपद्को उचित व्यवस्थापनमा भने पर्याप्त ध्यान पुग्न सकेको छैन । प्रकोपको रोकथाम, न्यूनीकरण तथा व्यवस्थापनमा धेरै सरकारी संयन्त्र सक्रिय रहेको भए पनि प्रभावकारी काम हुन सकेको छैन । सरकारी निकायहरुबिच आवश्यक समन्वय र सहकार्य हुन नसक्दा र सरकारले समयमै पर्याप्त पूर्वतयार गर्न नसक्दा प्रकोपजन्य घटनाका कारण वर्षेनि जनधनको व्यापक क्षति भइरहेको छ । विपद्को पूर्वानुमान, पूर्वतयारी, उद्दार, राहत तथा अन्य व्यवस्थापकीय कामका लागि छुट्टै निकाय नहुँदा आम नागरिक असुरक्षित बनिरहेका छन् ।
बागमती प्रदेशमा पछिल्लो १० वर्षमा विपद्का विभिन्न घटनाबाट १ हजार ३८ जनाले ज्यान गुमाएका छन् । प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घटनामा परी १ हजार ३८ जनाले ज्यान गुमाएका हुन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांकअनुसार २०७२ देखि २०८२ असार मसान्तसम्म प्रदेशका १३ जिल्लामा १ हजार ३८ जनाको मृत्यु भएको छ भने १८१ बेपत्ता भएका छन् । यस अवधिमा विपद्का घटनाबाट ६ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ । प्रदेशभर ६ हजार ८३९ वटा विपद्का घटना भएका छन् । विपद्मा परी २ हजार ३११ जना घाइते भएका छन् भने १६ हजार ६५३ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । विपद्का कारण प्रदेशमा ४ हजार ७२७ वटा घर पूर्णरुपमा नष्ट भएका छन् भने ५ हजार ८९६ वटा घरमा आंशिक क्षति पुगेको छ । जसमा कुल आर्थिक क्षति ६ अर्ब ९५ करोड ४१ लाख ७१ हजार ७१८ रुपैयाँ बराबरको रहेको मन्त्रालयले जनाएको छ ।
देशको राजधानी काठमाडौंमै सबैभन्दा बढी विपद्का घटना भएका छन् । १० वर्षमा काठमाडौंमा १ हजार ७७८ वटा घटना हुँदा चितवनमा सबैभन्दा बढी मानवीय क्षति भएर १४९ जनाको ज्यान गएको छ । सिन्धुपाल्चोकमा ११६ जनाको मृत्यु भएको छ भने ६५ जना बेपत्ता भएका छन् । विपद्का घटनाबाट काभ्रेमा ११९ जना, काठमाडौंमा ११३ जना, मकवानपुरमा ११२ जना, धादिङमा ९० जना, ललितपुरमा ७८ जना, सिन्धुलीमा ६८ जना, रसुवामा ५३ जनाको मृत्यु भएको छ । यस्तै, दोलखामा ४४ जना, रामेछापमा ४१ जना, नुवाकोटमा ३६ जना र भक्तपुरमा १९ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै आगलागीका ४ हजार २३ वटा घटना भएका छन् । आगलागीबाट १८० जनाको मृत्यु भएको छ भने ५ अर्ब ४२ करोडभन्दा बढीको क्षति भएको छ । मानवीय क्षतिको हिसाबले पहिरो सबैभन्दा घातक देखिएको छ । प्रदेशमा ९२८ वटा पहिरोका घटनामा परी ४६७ जनाले ज्यान गुमाएका छन् भने १०७ जना बेपत्ता भएका छन् । ३४१ वटा बाढीका घटनामा एक सय जनाको मृत्यु भएको छ भने १ अर्ब १९ करोडको क्षति भएको छ । चट्याङका कारण ११४ जना र जनावर आतंकबाट ७३ जनाले ज्यान गुमाएका छन् ।
कतिपय विपद्का घटनामा सानो सतर्कताले ठूलो क्षतिबाट बच्न सकिन्छ । सम्भावित विपद्जन्य स्थानको पहिचान गरी त्यस क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा सारेर विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सरकारले विशेष नीति तथा कार्यक्रम कार्यान्वयन गर्नु आवश्यक छ । प्राकृतिक विपतिलाई रोक्न नसके पनि समयमै सचेत भइयो भने क्षति न्यूनीकरण गर्न सकिन्छ । विपद्का घटनाबाट आम नागरिकको जीवन रक्षा गर्न तीनै तहको सरकारले इमान्दार भई उचित व्यवस्थापन गर्नुपर्छ । जोखिमयुक्त स्थानको पहिचान, जोखिम क्षेत्रका मानिसको स्थानान्तरण, विपद्का घटनाको पूर्वानुमान, सचेतना र पूर्वतयारीमा सरकारले पर्याप्त ध्यान दिनुपर्छ । विपद्पछिको उद्दार, राहत र पुनःनिर्माणमा समेत सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नु आवश्यक छ ।











