हेटौँडाः राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि काठमाडौंको न्यू डायमण्ड स्पोर्टस् क्लबले जितेको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा हेटौँडामा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा भएको खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि डायमण्ड क्लबले जितेको हो ।
आइतबार महोत्सव स्थल हेटौँडा–१०, टिसिएन चौरमा भएको फाइनल खेलमा डायमण्ड क्लबले बागमती प्रदेशको केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । डायमण्ड क्लबले केशवलाल प्रतिष्ठानलाई २५–१३, २५–१५ र २५–२३ ले पराजित गरेको हो । उपाधि विजेता डायमण्ड क्लबले ३ लाख र उपविजेता केशवलाल प्रतिष्ठानले २ लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको सेमिफाइनलमा केशवलाल प्रतिष्ठानसँग हारेको लुम्बिनी प्रदेशको स्टेप भलिबल क्लब र डायमण्ड क्लबसँग हारेको मधेश प्रदेशको जनशक्ति युवा क्लबले सान्त्वना पुरस्कारस्वरुप ५०÷५० हजार रुपैयाँ नगसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेकी डायमण्ड क्लबकी सुनिता क्षेत्रीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन् । डायमण्ड क्लबकी जेनिसा विश्वकर्मा प्रतियोगिताको सर्वोत्कृष्ट स्पाइकर, एन्जिला प्रधान सर्वोत्कृष्ट डिफेन्डर, भावना तामाङ सर्वोत्कृष्ट सेटर र कुमार राई सर्वोत्कृष्ट कोच घोषित भएका छन् ।
यस्तै, केशवलाल प्रतिष्ठानका रेबिका लामा सर्वोत्कृष्ट सर्भर र सलिना गुरुङ सर्वोत्कृष्ट ब्लकर बनेका छन् । प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीहरुले ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा जिल्ला भलिबल संघ मकवानपुर, स्टेप भलिबल क्लब (पाल्पा), जनशक्ति युवा क्लब (मधेश प्रदेश), ब्राइट फ्युचर स्पोर्टस क्लब (कोशी प्रदेश), केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान र न्यू डायमण्ड स्पोर्टस् क्लबको सहभागिता रहेको थियो । प्रतियोगिता लिग–कम–नकआउट प्रणालीमा भएको थियो ।











