हेटौँडा : हेटौँडा–१३ स्थित फेमकोल एकेडेमीको अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार विभिन्न साँस्कृतिक कार्यक्रमसहित विद्यालयले अभिभावक दिवस मनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बगानसिंह थिङको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा वडा नम्बर १३ का वडाध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्य रहेको थियो । अभिभावक दिवसको अवसरमा शनिबार विद्यालयद्वारा आयोजित गायन प्रतियोगिता पनि सम्पन्न भएको विद्यालयकी प्रशासन प्रमुख सुष्मा नकर्मीले जानकारी दिनुभयो । प्रतियोगितामा जुनियरतर्फ नेना घलान प्रथम, विशेषता परियार द्वितीय र मनिषा मोक्तान तृतीय भएका छन् ।
यस्तै, सिनियर निमेष वाइवा प्रथम, दिक्षा विक द्वितीय र दिपिका वाइवा तृतीय स्थान हासिल गरेका हुन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुले शिल्ड, मेडेल र प्रमाणपत्र प्राप्त गरेका छन् । अभिभावक दिवसको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ । १० कक्षासम्म पठनपाठन हुने यस विद्यालयमा ७ सय विद्यार्थीहरु अध्ययनरत छन् ।











