हेटौँडा : सिन्धुली जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बिपि राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–६, घुमाउने चैनपुरमा बुधबार चैनपुरबाट खाल्टेतर्फ जाँदै गरेको बा प्र ०२–०२७ प ११०० नम्बरको मोटरसाइकल सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको प्र ३–०२–०१४ प ८३६० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो । दुर्घटनामा ११०० नम्बरको मोटरसाइकल चालक सुनकोशी–६ का ३२ वर्षीय कैलाश तोलाङ्गेल, सोही मोटरसाइकलमा पछाडि सवार ४९ वर्षीय दिपेन्द्र केसी घाइते भएका छन् । घाइते दुवै जनालाई आत्मिय सामुदायिक अस्पताल खाल्टेमा उपचार पश्चात थप उपचारका लागि काठमाडौं पठाइएको छ । त्यस्तै, अर्को मोटरसाइकलका चालक रामेछापको मन्थली नगरपालिका–६ का ४५ वर्षीय डल्ले माझीको आत्मिय सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुवै सवारी साधन इलाका प्रहरी कार्यालय खुर्कोटको नियन्त्रणमा रहेको छ ।











