हेटौँडाः यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुरबाट ७ हजार १ सय ९२ विद्यार्थीहरु समावेश हुने भएका छन् । जिल्लाका २८ वटा विद्यालयका परीक्षा केन्द्रबाट ७ हजार बढीले परीक्षा दिन लागेका हुन् ।
यस वर्षको एसईईमा ५ हजार ५ सय २७ जना नियमित तथा ग्रेडवृद्धितर्फ १ हजार ६ सय ६५ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका सूचना अधिकारी उन्नती ढकालले जानकारी दिनुभयो । यीमध्ये प्राविधिक धारतर्फ १ सय ७५ जना नियमित र ग्रेडवृद्धिका ८८ गरी कुल २ सय ६३ जना एसईई परीक्षामा सामेल हुनेसमेत इकाईले जनाएको छ । हाल जिल्लामा प्राविधिक धारमा १० वटा विद्यालयहरुले पठनपाठन गराउँदै आइरहेका छन् ।
एसईईका लागि मकवानपुर जिल्लामा २८ वटा परीक्षा केन्द्रहरु तोकिएका छन् । हेटौँडाका १५ वटा विद्यालयहरुमा परीक्षा केन्द्रहरु रहनेछन् । थाहा नगरपालिकाको जनकल्याण मावि, मत्स्यनारायण मावि र बज्रबाराही माविमा परीक्षा केन्द्र तोकिएका छन् । यस्तै, बकैया गाउँपालिकाको बुद्ध मावि र महेन्द्र माविलाई परीक्षा केन्द्र तोकिएको छ । मनहरी गाउँपालिकामा राष्ट्रिय रोटरी मावि र महेन्द्र किरण माविमा परीक्षा केन्द्र तोकिएका छन् ।
जिल्लाका अन्य गाउँपािलकाहरुमा भने एक–एक वटा परीक्षा केन्द्र रहनेछन् । बागमती गाँउपालिकामा जनता मावि, भीमफेदी गाउँपालिकामा महेन्द्र मावि, कैलाश गाउँपालिकामा कालिका मावि, राक्सिराङ गाउँपालिकामा प्रजाजागृति मावि, इन्द्रसरोबर गाउँपालिकामा सरस्वती बालबोधिनी मावि र मकवानपुरगढी गाउँपालिकामा जाल्पादेवी माविमा परीक्षा केन्द्र तोकिएको छ ।
हेटौँडा उपमहानगरपालिकाका परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका लैजाने काम भइरहेको इकाईले जनाएको छ । जिल्लाका अन्य परीक्षा केन्द्रहरुमा केही दिनभित्रै उत्तरपुस्तिका पुर्याइने समन्वय इकाईले जनाएको छ । एसईई परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुलाई सहजीकरण तालिमसमेत भइरहेको इकाईका सूचना अधिकारी ढकालले जानकारी दिनुभयो । यस वर्षको एसईई आउँदो चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।











