यस वर्षको एसईई आगामी चैत १९ गतेबाट सुरु हुँदैछ । विद्यालय तहको महत्वपूर्ण परीक्षाको रुपमा एसईईलाई लिइन्छ । पछिल्लो समय सरकारले कक्षा–१२ सम्मको शिक्षालाई विद्यालय तहको शिक्षा भने पनि अझै १० कक्षाको वार्षिक परीक्षा नै विद्यालय परीक्षाको रुपमा स्थापित छ । गत वर्ष एसईईमा मकवानपुर जिल्लामै शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल मकवानपुरगढी गाउँपालिका–५ स्थित शारदा मावि यस वर्ष पनि गत वर्षजस्तै नतिजा हासिल गर्ने प्रयास गरिरहेको छ । गत वर्षको उपलब्धी, यस वर्षको योजना र लक्ष्यको विषयमा रहेर शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर कार्कीसँग समृद्ध समाज दैनिकका लागि सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंश :
समाज : गत वर्ष शारदा माविले एसईईमा शतप्रतिशत नतिजा ल्याउन सफल भयो । त्यो उपलब्धिलाई कसरी सम्झनुहुन्छ ?
कार्की : गत वर्षको नतिजा हाम्रो विद्यालयका लागि निकै महत्वपूर्ण उपलब्धि थियो । हामीले त्यसका लागि योजनाबद्ध रूपमा तयारी गरेका थियौं । विशेषगरी विद्यार्थीहरूलाई क्लोज क्याम्पमा राखेर नियमित अध्ययन गराउने, पर्याप्त अभ्यास गराउने, निरन्तर मूल्याङ्कन गर्ने र कमजोरी पहिचान गरेर सुधार गर्ने काम गरिएको थियो । पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको ग्रिडअनुसार मोडल प्रश्नहरू अभ्यास गराइयो र बारम्बार परीक्षा सञ्चालन गरियो ।
विद्यार्थीहरूलाई नियमित तालिकाअनुसार बिहानदेखि बेलुकासम्म अध्ययन गराउने वातावरण बनाइएको थियो । मोबाइलजस्ता ध्यान विचलित गर्ने कुराबाट टाढा राख्दै समय व्यवस्थापनमा जोड दिइयो । साथै अडियो–भिडियो शैक्षिक सामग्री प्रयोग गरी विषय बुझ्ने वातावरण पनि बनाइयो । यिनै प्रयासका कारण गत वर्ष हामीले शतप्रतिशत नतिजा हासिल गर्न सफल भयौँ ।
समाज : गत वर्ष शतप्रतिशत नतिजा आउने अनुमान गरिएको थियो ?
कार्की : हामीले सधैं राम्रो नतिजा ल्याउने लक्ष्य राख्छौं । सकेसम्म सबै विद्यार्थी उत्तीर्ण गराउने नै हाम्रो पहिलो लक्ष्य हुन्छ । तर शतप्रतिशत नतिजा नै आउँछ भनेर ठ्याक्कै अनुमान गर्न सकिने अवस्था हुँदैन । विद्यार्थीको स्वास्थ्य अवस्था, परीक्षाको वातावरण, प्रश्नपत्रको स्तर, कपी परीक्षण जस्ता विभिन्न पक्षले नतिजामा असर पार्छन् । त्यसैले गत वर्ष पनि करिब ९० प्रतिशतको आसपास नतिजा आउला भन्ने हाम्रो अनुमान थियो । तर अन्ततः सबै विद्यार्थी उत्तीर्ण हुँदा निकै खुशी लाग्यो ।
समाज : यस वर्ष एसईईमा कति विद्यार्थी सहभागी हुँदैछन् ?
कार्की : यस वर्ष हाम्रो विद्यालयबाट २७ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । कक्षा ९ मा भने अहिले करिब ५८ जना विद्यार्थी छन् । गत वर्ष पनि २५ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए । यस वर्षका विद्यार्थीलाई पनि अहिले क्लोज क्याम्पमा राखेर नियमित रूपमा तयारी गराइरहेका छौँ ।
समाज : क्लोज क्याम्प प्रणाली कस्तो छ ? विद्यार्थीहरूको दैनिक तालिका कस्तो हुन्छ ?
कार्की : क्लोज क्याम्पमा विद्यार्थीहरू विद्यालयमै बस्ने व्यवस्था गरिएको छ । बिहान साढे चार बजेदेखि अध्ययन सुरु हुन्छ र रातिसम्म पढाइ जारी रहन्छ । बीच–बीचमा विश्राम, खाना र अभ्यास परीक्षा राखिएको हुन्छ । हप्तामा कम्तिमा तीन पटक परीक्षा सञ्चालन गरेर विद्यार्थीलाई अभ्यास गराइन्छ । यसले गर्दा उनीहरूमा परीक्षा डर कम हुन्छ र प्रश्नको ढाँचा बुझ्न सजिलो हुन्छ ।
समाज : क्लोज क्याम्प सञ्चालन गर्दा कस्ता चुनौतीहरू देख्नुभएको छ ?
कार्की : क्लोज क्याम्प सञ्चालन गर्दा केही चुनौतीहरू पनि हुन्छन् । विद्यार्थीहरू किशोरावस्थामा भएकाले घरपरिवारबाट टाढा बसेर अध्ययन गर्नु उनीहरूका लागि सजिलो हुँदैन । भावनात्मक अवस्था, स्वास्थ्य समस्या, खानपान, बसोबास र दैनिक व्यवस्थापन जस्ता विषयमा ध्यान दिनुपर्छ । विद्यालयमा पर्याप्त होस्टेल सुविधा नभएकाले कक्षाकोठा खाली गरेर बस्ने व्यवस्था गरिएको छ । बाथरुम, बसाइ र अन्य आधारभूत सुविधामा पनि केही समस्या देखिन्छ । यद्यपि विद्यालय परिवारले सकेसम्म घरजस्तै वातावरण बनाउने प्रयास गरेको छ ।
समाज : यस वर्षको नतिजाबारे कस्तो अपेक्षा राख्नुभएको छ ?
कार्की : हाम्रो लक्ष्य यस वर्ष पनि सकेसम्म शतप्रतिशत नतिजा ल्याउने नै हो । शिक्षक, विद्यार्थी र अभिभावक सबैले मिहिनेत गरिरहेका छन् । अहिले पनि नियमित अभ्यास र परीक्षा सञ्चालन भइरहेको छ । यथार्थ रूपमा भन्नुपर्दा ८० देखि ९० प्रतिशतको हाराहारीमा नतिजा आउने हाम्रो प्रक्षेपण छ । तर विद्यार्थीहरूको निरन्तर अभ्यासले राम्रो नतिजा आउने विश्वास छ ।
समाज : अभिभावक र स्थानीय तहको सहयोग कस्तो छ ?
कार्की : अभिभावक, वडा कार्यालय र विद्यालय व्यवस्थापन समितिको सहयोग निकै राम्रो छ । सुरुमा केही अभिभावकको आर्थिक कारणले उनीहरुको बालबालिका क्लोज क्याम्पमा राख्न गाह्रो लागेको थियो । तर वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति र अन्य सरोकारवालाले सहयोग गर्ने आश्वासन दिएपछि अभिभावकहरूले पनि साथ दिनुभएको छ । विद्यार्थीले मासिक करिब सात हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ, जसमा बसाइ, खाना, परीक्षा र अन्य व्यवस्थाहरू समेटिएका छन् । यसमा स्थानीय तहले छात्रवृत्तिमार्फत केही सहयोग पनि गरेको छ ।
समाज : अन्त्यमा, विद्यालयको सफलताको मुख्य आधार के हो ?
कार्की : हाम्रो विद्यालयको सफलताको मुख्य आधार शिक्षकहरूको लगनशीलता, विद्यार्थीहरूको अनुशासन, अभिभावकहरूको विश्वास र समुदायको सहयोग हो । शिक्षक साथीहरू अतिरिक्त समयमा पनि अत्यन्तै मेहनतका साथ काम गरिरहनुभएको छ । सबैको साझा प्रयासले नै विद्यालयले राम्रो नतिजा हासिल गर्न सकेको हो । आगामी दिनमा पनि हामी यही प्रयासलाई निरन्तरता दिँदै अझ राम्रो परिणाम ल्याउने लक्ष्यका साथ अघि बढिरहेका छौँ ।











