प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा स्टेप रामपुर भलिबल क्लब र जिल्ला भलिबल संघ मकवानपुरबीचको खेल ।

हेटौँडा : हेटौँडामा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । बुधबारप्रतियोगिताको पहिलो खेल जिल्ला भलिबल संघ मकवानपुर र पाल्पाको स्टेप रामपुर भलिबल क्लबबीच भएको छ ।

प्रतियोगिताको पहिलो खेलमा स्टेप रामपुर भलिबल क्लबले जिल्ला भलिबल संघ मकवानपुरलाई २५–६, २५–२१ र २५–२३ को सोझो सेटमा पराजित गरेको छ । महोत्सवस्थल हेटौँडा–१०, टिसिएनचौरमा सुरु भएको प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा जिल्ला भलिबल संघ मकवानपुर, स्टेप भलिबल क्लब (पाल्पा), जनशक्ति युवा क्लब (मधेश प्रदेश), ब्राईट फ्युचर स्पोर्टस क्लब (कोशी प्रदेश), केशवलाल स्मृति प्रतिष्ठान र न्यू डायमण्ड क्लब स्पोर्टस् क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिता विजेता टोलीले ३ लाख र उपविजेता टोलीले २ लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । अन्य दुई टोलीले सान्त्वना पुरस्कार स्वरुप ५०÷५० हजार नगसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीका लागि १५ हजार रुपैयाँ नगसहित प्रतियोगितामा विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ । विधागत उत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनेछ । लिग–कम–नकआउट प्रणालीमा हुने प्रतियोगिताको फाइनल खेल आईतबार हुनेछ ।