हेटौँडा : प्रधानमन्त्री कप बागमती प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता ललितपुरले जितेको छ । मंगलबार भएको फाइनलमा काठमाडौंलाई हराएर ललितपुर प्रतियोगिता विजेता बनेको हो ।
तल्लो मूलपानी क्रिकेट मैदानमा भएको फाइनल खेलमा काठमाडौंले टस जितेर व्याटिङ् रोजेको थियो । काठमाडौंले ४८ ओभर ४ बलमा २ सय १० रनमा अलआउट भएको थियो । काठमाडौंका कप्तान ईशान पाण्डेले ४४ रन र रित गौतमले ४२ रन बनाए । बलिङ्मा काठमाडौंका सन्दिप पराजुलीले २ विकेट, क्याप्टेन पाण्डे र धिरज दुवेले समान १ विकेट लिए ।
२ सय ११ रनको लक्ष्य पछ्याएको ललितपुर ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । ललितपुरले ३८ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य भेटाएको हो । ललितपुरका विवेक राना मगरले नटआउट ७३ रन बनाए । सचिन लेखकले ६३ रन रोनिम तिवारीले ३२ रन जोडे । ललितपुरका सूर्य तामाङ, सचिन लेखक र विवेक राना मगरले समान २ विकेट लिए ।
प्रतियोगितामा सर्वाधिक ५ सय ७ रन बनाएका ललितपुरका विवेक राना मगर प्रतियोगिताका सर्वोत्कृत खेलाडी घोषित भए । यस्तै प्रतियोगितामा १६ विकेट प्राप्त गरेका काठमाडौं दयानन्द मण्डल सर्वोत्कृष्ट विकेट लिने खेलाडी घोषित भए । प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान) बाट आधिकारिकता पाएका बागमती प्रदेशका ६ वटा जिल्लाहरू मकवानपुर, चितवन, नुवाकोट, ललितपुर, भक्तपुर र काठमाडौं जिल्लाको टिम र एउटा त्रिभुवन विश्वविद्यालयको टिम गरी ७ वटा टोलीको सहभागिता रहेको थियो ।
मकवानपुरले ६ खेलमध्ये २ खेलमा जीत, ४ खेलमा हार व्यहोर्दै ४ अंकसहित प्रतियोगिताबाट बाहिरिएको थियो । मकवानपुरले त्रिभुवन विश्वविद्यालय र नुवाकोट जिल्लालाई पराजित गर्दा चितवन, ललितपुर, काठमाडौं र भक्तपुरसँग पराजित भएको थियो । बागमती प्रदेश क्रिकेट संघका सदस्य संजोग पोखरेलका अनुसार प्रतियोगितामा प्रदर्शनको आधारमा १९ जना खेलाडी छनोट गरी क्याम्प सञ्चालन गरिनेछ । जसमध्ये १५ जना प्रदेश टोलीमा समावेश हुनेछन् भने ४ जना वैकल्पिक खेलाडीका रुपमा रहनेछन् ।











