हेटौँडा : हेटौँडामा जारी मकवानपुर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि मंगलेश्वर युवा क्लब र छहारी युवा सेवा समाज भिड्ने भएको छ । दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा जारी प्रतियोगिताको सेमिफाइनलका खेलहरु मंगलबार बिहान भएको हो ।

पहिलो सेमिफाइनल खेलमा थाहा–२ को मंगलेश्वर युवा क्लबले थाहा–६ को नवप्रतिभा साँस्कृतिक युवा क्लबलाई २५–१९, २५–१८ र २५–१४ को सोझो सेटमा पराजित गरेर फाइनल प्रवेश गरेको हो । यस्तै दोस्रो सेमिफाइनल खेलबाट हेटौँडा–११ को छहारी युवा सेवा समाजले फाइनलमा प्रवेश गरेको हो । छहारी युवा सेवा समाजले मनहरी गाउँपालिकालाई २८–२६, २५–२३ र २५–१६ ले पराजित गरेको हो ।

प्रतियोगिताको फाइनल खेल मंगलबार दिउँसो २ बजेदेखि हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । सेमीफाइनलमा पराजित हुने दुई टिमले १५/१५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगितामा ७ वटा विधाका खेलाडीहरुलाई नगदसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने छ भने अन्य उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीलाई २/२ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिने छ ।