इनिसालाई न्याय माग्दै आइबार हेटौँडामा विद्यार्थीले गरेको प्रदर्शन ।

हेटौँडा : सुर्खेतकी इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष न्यायका लागि संयुक्त राजनीतिक दलित संघर्ष समिति मकवानपुरले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेश गरेको छ । समितिका संयोजक कमलकुमार विश्वकर्माले आइतबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीमार्फत शिघ्र छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेश गर्नुभएको हो ।

सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका–६ स्थायी घर भई हाल वीरेन्द्रनगर–१ वस्ने १६ वर्षीया इनिसा विकको यहि फागुन २२ गते बलात्कार र हत्या भएकोमा ज्ञापनपत्रमा गहिरो दुःख व्यक्त गर्नुका साथै घटनाको निन्दा एवम् भत्र्सना गरिएको छ । यस्तो जघन्य अपराधले मानवता, कानुनी शासन तथा सभ्य समाजको मूल्य मान्यतामाथि गम्भीर उपहास गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

बलात्कार तथा हत्यामा संलग्नहरुलाई पक्राउ गरेको र उनीहरुले अपराध स्वीकार गरिसकेको अवस्थामा अपराधीहरुलाई बचाउने गरी विभिन्न शक्तिकेन्द्रले मुद्दालाई कमजोर बनाउने र पीडित परिवारलाई हतोत्साही गर्नेजस्ता कामहरु भइरहेको आरोप ज्ञापनपत्रमा लगाइएको छ । घटनाको तत्काल निष्पक्ष, गहिरो र पारदर्शी छानविन गरी दोषीहरूलाई कडा कानुनी कारवाही गर्न तथा पीडित परिवारलाई न्याय, सुरक्षा र उचित क्षतिपूर्ति उपलब्ध गराउनसमेत माग गरिएको छ ।

यस्तै, पीडित परिवारलाई सुरक्षा, मनोसामाजिक परामर्श तथा न्यायिक सहयोग तत्काल उपलब्ध गराउन, अनुसन्धान तथा न्याय प्रक्रियामा राजनीतिक दवाव, प्रभाव वा हस्तक्षेप हुन नदिन पनि ज्ञापनपत्रमा माग गरिएको छ । यसैगरी लैङ्गिक हिँसा तथा जातीय विभेदका घटनामा दण्डहीनता अन्त्य गर्न राज्यका निकायहरूलाई थप जिम्मेवार बनाइनुपर्ने माग ज्ञापनपत्रमा छ ।

स्थानीय तह, प्रहरी प्रशासन तथा सम्बन्धित निकायहरूले पीडितमैत्री न्याय प्रणाली सुनिश्चित गर्नुपर्ने र हत्या गरिएकी बालिकाको चरित्र हत्या गर्ने समाचार सम्प्रेषणमा रोक लगाइनुपर्ने लगायत मागहरु ज्ञापनपत्रमा उल्लेख गरिएको छ । यस्ता जघन्य घटनामा ढिलासुस्ती, अनुचित प्रभाव वा अन्याय भएको देखिएमा थप सशक्त आन्दोलनमा उत्रने चेतावनीसमेत ज्ञापनपत्रमा दिइएको छ ।

यता आइतबार विद्यार्थीहरुले पनि इनिसाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । आइतबार बिहान क्याम्पस तथा विद्यालय तहका विद्यार्थीले हेटौँडा बजार क्षेत्रमा प्रदर्शन गर्दै बुद्धचोकमा सभाको आयोजना गरेको थियो । विद्यार्थीहरुले प्रदर्शनपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।