बजारमा खाना पकाउने (एलपी) ग्यासको अभाव भएको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले बजार तथा उद्योग अनुगमन गरेको छ । बजारमा ग्यास बिक्रेताहरुले ग्यास नभएको भन्ने गरेको र भाडामा बस्ने विद्यार्थीलगायतले ग्यास नपाएको जनगुनासो बढेपछि शनिबार अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गुणस्तर तथा नापतौल कार्यालय पर्सा, उपभोक्ता हित संरक्षण मञ्च, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरसहितको दुई टोलीले अनुगमन गरेको थियो । हेटौँडा नगरभित्रका सबै १५ वटै एलपी ग्यासका डिलरहरु तथा हेटौँडा–३ स्थित सहारा ग्यास उद्योगमा आकस्मिक अनुगमनसँगै सिलिण्डरहरु नापतौल गरिएको बताइएको छ । अनुगमनको क्रममा कुनै पनि ग्यास डिलरमा ग्यासको कमी नरहेको र सहारा ग्यास उद्योगमा पनि पर्याप्त ग्यास आपूर्ति भइरहेको पाइएको छ ।
नेपाली बजारमा समयसमयमा एलपी ग्यासको कृत्रिम अभाव सिर्जना हुने गरेको छ । सामान्य घटना तथा बजार हल्लाका भरमा सहजरुपमा बिक्रीवितरण भइरहेको ग्यास एक्कासी अभाव हुने गरेको पाइन्छ । मूल्य वृद्धि वा कमी हुँदा, नेपाल आयल निगमले इण्डियन आयललाई समयमा भुक्तानी गर्न नसक्दा, लामो समय यातायात बन्द हुँदा, ग्यास व्यवसायीले विभिन्न माग राखी ग्यास आपूर्ति नगर्दा तत्काल बजारमा ग्यास अभाव भएको बताउने गरिएको छ । ग्यासको आपूर्तिमा सामान्य समस्या देखिनासाथ व्यवसायीले कृत्रिम अभाव सृजना गरी कालोबजारी गर्ने प्रयास गर्दा बजारमा ग्यासको अभाव हुने गर्दछ । यस पटक मध्यपूर्वी एसिया तथा खाडी क्षेत्रमा भएको तनावले ग्यास अभाव बनाइएको छ । केही साताअघि अमेरिकाको सहयोगमा इजराइलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा टकराव भइरहेको छ । इरानले आफूमाथिको हमलाको बदला लिन छिमेकी देशहरुका तेल उत्पादन केन्द्रमा ड्रोन आक्रमण गर्नुका साथै तेल ओसारपसार गर्ने समुद्री मार्गमा अवरोध गरेपछि विश्वभर तेल संकट गहिरिएको छ ।
मध्यपूर्व एसियाका इरान, इराक, कुवेत, युएई, साउदी अरब, कतार आदि विश्वमै बढी तेल उत्पादन गर्ने देशहरु हुन् । यी देशहरुबाटै विश्वका धेरै क्षेत्रमा पेट्रोलियम पदार्थ आपूर्ति हुने गर्दछ । नेपालले भारतबाट पेट्रोलियम पदार्थ ल्याउने गरेको भए पनि भारतले मध्यपूर्वी देशहरुबाटै धेरै पेट्रोलियम आयात गर्दछ । भारतले नेपाललाई साविकबमोजिम नै पेट्रोलियम पदार्थ उपलब्ध गराइरहेको भए पनि भारतमै एलपी ग्यासको चरम अभाव रहेको र त्यसको असर नेपालमा पनि पर्ने सम्भावनाले गर्दा आम उपभोक्ताले सक्दो ग्यास सञ्चय गर्दा बजारमा केही समस्या देखिएको हो ।
हेटौँडा बजारका ग्यास डिलरको अनुगमनमा पूर्ववतरुपमै बजारको मागअनुसार ग्यास आपूर्ति भइरहेको पाइएको छ । डिलरमार्फत उपभोक्तासमक्ष बजारमा पठाइने ग्यास सिलिण्डरको संख्यामा कमी भएको छैन । सहारा ग्यास उद्योगले प्रतिमहिना २४ हजार सिलिण्डर ग्यास उत्पादन र वितरण गर्दै आएकोमा फागुन महिनामा मात्रै ३२ हजार सिलिण्डर ग्यास वितरण गरिएको देखिन्छ । ग्यास अभाव कम गर्न नेपाल आयल निगमले केही दिन अघिबाटै आधा सिलिण्डर ग्यास बजारमा पठाउन उद्योगहरुलाई निर्देशिन दिइसकेको अवस्थामा ग्यास अभाव कृत्रिम भएको अनुगमनले देखाएको छ ।
मध्यपूर्व तथा खाडी मुलुकहरुमा चलिरहेको युद्धका कारण बजारमा ग्यासको माग बढी भएको मौकामा ग्यास व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेको हुनसक्छ । भविष्यमा संकट आउनसक्ने अनुमानका आधारमा उपभोक्ताहरुले धेरै परिमाणमा ग्यास मौज्दात राख्न खोज्दा आपूर्तिमा केही समस्या देखिएको हो । विगतमा भन्दा बढी ग्यास बिक्रीवितरण गर्दा पनि अभाव देखिनु स्वभाविक होइन । विद्यार्थी र भाडामा बस्नेहरुसँग जगेडा सिलिण्डर नभएका कारण ग्यास पाउन असहज भएको अवस्थामा व्यवसायीले सहजीकरण गर्नु आवश्यक देखिन्छ । ग्यास आपूर्ति सहज भइरहेको अवस्थामा नियमित बजार अनुगमन गरी अभाव सिर्जना गर्नेलाई कारबाही गर्नु उचित हुनेछ ।











