हेटौँडा: प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा खटिएका निर्वाचन प्रहरीहरुलाई बिदाइ गरिएको छ । बिहिबार हेटौँडा–४, हुप्रचौरमा आयोजित कार्यक्रम मार्फत प्रमाणपत्र प्रदान गर्दै निर्वाचन प्रहरीहरुलाई बिदाइ गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले निर्वाचनलाई भयरहित र सौहाद्र्धपूर्ण वातावरणमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै निर्वाचन प्रहरीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले बिदाइ हुँदै गरेका निर्वाचन प्रहरीहरुले निर्वाचन अवधिमा सिकेको अनुशासन कायम राख्दै मष्तिष्कमा समझदारी, हृदयमा इमान्दारी, काममा जिम्मेवारी राख्दै समाजमा जिम्मेवार नागरिक भएर रहन अनुरोध गर्नुभयो । उहाँले निर्वाचन प्रहरीहरुलाई भविष्यमा समेत राज्यले सञ्चालन गर्ने शान्ति सुरक्षाका कार्यक्रमहरुमा प्राथमिकतामा राखिने बताउनुभयो ।
आफ्ना जिम्मेवारी पूरा गरेपछि निर्वाचन प्रहरीहरु कार्यक्रममा नाचगान र रमाइलो गर्दै बिदा भए । यस्तै बिदाइ कार्यक्रमको अवसरमा निर्वाचन कार्यक्रमका लागि जिल्लाभर रहेका मतदान केन्द्रमा खटिएका १ हजार ९ सय २२ जना निर्वाचन प्रहरीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । एक जना निर्वाचन प्रहरीको भने दुर्घटनामा परी मृत्यु भएको थियो । गत माघ १८ गते ४० दिनका लागि नियुक्त गरिएका निर्वाचन प्रहरीहरुलाई ९ दिनको तालिम समेत प्रदान गरिएको थियो ।
निर्वाचन प्रहरीलाई निर्वाचन तयारीका क्रममा, निर्वाचन प्रक्रिया र मतगणना पश्चात समेत गरी ४० दिनसम्म जिल्लाका शान्तिसुरक्षामा खटाइएको थियो । उनीहरुलाई निर्वाचन कार्यक्रमका लागि हेटौँडा, पालुङ, मनहरी, मकवानपुरगढी, ठिँगन र फापरबारी गरी ६ स्थानबाट परिचालन गरिएको थियो । बिदाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक श्याम बहादुर खत्री, प्रहरी नायव उपरीक्षक पुष्कर बोगटी, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर लगायतको उपस्थिति रहेको थियो ।











