भवन निर्माणका लागि शिलान्यास गरिँदै ।

हेटौँडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक कार्यक्रमलाई सञ्चालन गर्ने उद्देश्यले हेटौंडामा प्रिफ्याब भवन निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ । भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

प्रतिष्ठानमा सञ्चालित विभिन्न कोर्षहरु तथा यसै शैक्षिक सत्रबाट सञ्चालित एमबिबिएस कार्यक्रमलाई एकै ठाँउमा व्यवस्थित र स्थायी संरचनाबाट सञ्चालन गर्ने उद्देश्यले प्रिफ्याब भवनको निर्माण गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । हेटौंडा–१०, टिसिएन क्षेत्रमा निर्माण हुन लागेको भवनको ठेक्का सम्झौता सम्पन्न भएपछि बिहीबारदेखि निर्माण कार्य अघि बढाइएको हो । प्रतिष्ठानको शैक्षिक गतिविधि सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार तयार पार्ने उद्देश्यले निर्माण थालिएको यस भवनको कुल लागत ८ करोड ६१ लाख १७ हजार ९ सय १ रुपैयाँ रहेको प्रतिष्ठानका रजिष्ट्रार भीमसागर गुरागाइँले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित बिजी साबिरा चन्द्रायण जेभी काठमाडौँसँग सम्झौता गरिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री बानियाँले प्रतिष्ठानका शैक्षिक कार्यक्रमहरुलाई एउटै स्थानबाट व्यवस्थित ढंगले सञ्चालन गर्न सहज बनाउने उद्देश्यले नयाँ भवन निर्माण गर्न लागिएको बताउदै तोकिएकै समयमा काम सक्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । मुख्यमन्त्री बानियाँले निर्माण कार्यका लागि आवश्यक सामग्रीहरुको मौज्दात राख्न पनि निर्देशन दिनुभयो । कुनै पनि बहानामा निर्माण कार्यमा ढिलासुस्ती हुन नहुनेमा उहाँले निर्माण कम्पनीलाई सचेत गराउनुभयो । नयाँ प्रिफ्याब भवन निर्माण भएसँगै प्रतिष्ठानका शैक्षिक कार्यक्रमहरू आफ्नै पूर्वाधारबाट सञ्चालन गर्न सकिने रजिष्ट्रार गुरागाईले बताउनुभयो । कार्यक्रममा निर्माण कम्पनी चन्द्रायण जेभीका प्रोपाइटर राजकुमार अधिकारीले तोकिएको समयभित्र भवनको निर्माण सम्पन्न गरिसक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निर्माण हुने प्रिफ्याब भवन आधुनिक संरचनासहित तयार पारिने योजना रहेको छ । भवनमा कक्षाकोठा, प्रशासनिक कक्ष, प्रयोगशाला लगायतका आवश्यक पूर्वाधार समावेश गरिने जनाइएको छ । प्राविधिक रूपमा तयार पारिने यस संरचनाले स्वास्थ्य शिक्षासँग सम्बन्धित विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहज वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ । हाल प्रतिष्ठानले आफ्ना शैक्षिक कार्यक्रम सञ्चालन गर्न भाडामा लिइएका घर तथा कोठाहरु प्रयोग गर्नुपरेको अवस्था छ ।

यस्तै बिहिबार नै प्रतिष्ठानको हेटौंडा अस्पताल परिसरमा नवििनर्मित ५ तले भवन समेत बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मार्फत औपचारिक रुपले प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभएको छ । ५ तले भवन संघीय सरकारको २८ करोड ५४ लाख रुपैयाँमा निर्माण गरिएको हो । २०७८ असार १८ गते शहरी विकास तथा भवन कार्यालय मार्फत निर्माण कम्पनी बिकोई नवसिर्जनशील जेभीसँग २ वर्षको निर्माण सम्झौता गरे पनि निर्माण पूरा नभएपछि २०८० मा पुनः २ वर्ष म्याद थप गरेपछि गत पुसमा निर्माण सम्पन्न भएको थियो । भविष्यमा हेटौँडा अस्पतालका लागि २ सय शैय्यासहित अन्य थप सेवा सञ्चालानार्थ निर्माण भएको १ सय ५० कोठा सहितको यस भवनमा हाल प्रतिष्ठानको कार्यालय तथा शैक्षिक कार्यक्रमका लागि प्रयोग भइरहेको छ ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, भौतिक पूर्वाधार मन्त्री डा. दिनेशचन्द्र देवकोटा, स्वास्थ्यमन्त्री किरण थापा, स्वास्थ्य मन्त्रालयका सचिव सुमित्रा गौतम, बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेललगायत प्रतिष्ठानका पदाधिकारीहरुको सहभागिता थियो ।