हेटौँडाः मकवानपुर जिल्लास्तरीय दौड प्रतियोगिता र व्याडमिन्टन प्रतियोगिता शुक्रबार हुने भएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत प्रतियोगिता हुन लागेको हो ।
महोत्सवको पहिलो दिन अर्थात शुक्रबार मकवानपुर जिल्ला एथ्लेटिक्स संघको व्यवस्थापनमा जिल्लास्तरीय महिला÷पुरुष १० किलोमिटर दौड प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि इच्छुक खेलाडीहरुले बुधबारसम्म फर्म भर्न पाउनेछन् । यस्तै मकवानपुर जिल्ला व्याडमिन्टन संघको व्यवस्थापनमा शुक्रबार र शनिबार दुई दिन जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम हुनेले २० हजार र द्वितीय हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने अन्य दुई जनाले सान्त्वना पुरस्कार ५ हजार नगदसहित शिल्ड, मेडेल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीका लागि पनि नगद, शिल्ड र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा भाग लिने खेलाडीहरु मकवानपुर जिल्लाको हुनुपर्नेछ । विभिन्न कार्यालयमा कार्यरत खेलाडीहरुको हकमा भने यस जिल्लाको कार्यालयको परिचयपत्रमार्फत भाग लिन पाउने छन् । महोत्सव शुक्रबारदेखि चैत १४ गतेसम्म हेटौँडा–१० स्थित टिसिएन चौरमा आयोजना हुनेछ ।











