हेटौँडाः बागमती प्रदेश सरकार अन्तर्गत रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टर (एमबिबिएस) को पढाई सुरु भएको छ । चिकित्सा शिक्षा आयोगबाट ५० सिटको स्वीकृति पाएपछि प्रतिष्ठानले यसै शैक्षिक सत्रदेखि एमबीबीएस कार्यक्रम सञ्चालनमा ल्याएको हो । सोमबार नवप्रवेशी विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमका नवप्रवेशी विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै प्रदेशका स्वास्थ्यमन्त्री थापाले पालिकाहरुका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा स्वास्थ्य जनशक्तिको अभाव रहेकोमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले उत्पादन गर्ने स्वास्थ्यकर्र्मीहरुबाट सेवा अभाव पूर्ति गर्न भूमिका खेल्ने बताउनुभयो । उहाँले यसअघि जनशक्तिको अभाव झेल्दै आइरहेको परिवेशमा यस प्रतिष्ठानले सञ्चालन गरेको एमबिबिएस कार्यक्रममा देशका सातै प्रदेशबाट विद्यार्थीहरु सहभागी भएकोले यसले बागमती प्रदेश मात्र नभई देशका सबै भागलाई फाइदा पुग्नेमा जोड दिनुभयो । जिल्ला अस्पतालका रूपमा रहँदा र प्रतिष्ठान मातहत आउँदा हेटौँडा अस्पतालमा धेरै फरक आएको उहाँले दावी गर्नुभयो । उहाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी अन्य प्रतिष्ठानका भन्दा अब्बल चिकित्सकका रूपमा प्रगति गर्ने अपेक्षा समेत जनाउनुभयो ।

प्रतिष्ठानका संस्थापक कुलपति एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठान स्थापना गर्न निक्कै ठूलो संघर्ष भएको स्मरण गर्दै विद्यार्थीहरूलाई अनुशासित ढंगले अध्ययन गर्न आग्रह गर्नुभयो । उहाँले विद्यार्थीलाई पढाइमा मात्रै केन्द्रित रहन आग्रह गर्नुभयो । प्रतिष्ठानमा पढाइ बाहेक अन्य किसिमका चलखेल नगर्न विद्यार्थीलाई सचेत समेत गराउनुभयो । पूर्व मुख्यमन्त्री पौडेलले प्रतिष्ठानलाई भविष्यमा विद्यार्थीहरूको पहिलो रोजाइ बन्ने गरी शैक्षिक गतिविधि सञ्चालन गर्ने लक्ष्य रहेको पनि बताउनुभयो ।

हाल प्रतिष्ठानका विभिन्न शैक्षिक कार्यक्रमहरू हेटौँडाको गौरिटार, हेटौंडा–११ स्थित नलेज भिलेज, हुप्रचौर र कमानेमा सञ्चालन भइरहेका छन् । व्यवस्थित भवनको अभावमा छरिएर रहेका शेक्षिक कार्यक्रमलाई एउटै भवनबाट सञ्चालन गर्न प्रदेश सरकारको १२ करोड लगानीमा भवन निर्माण गर्न लागिएको उपकुलपति प्रदीप ज्ञवालीले बताउनुभयो । प्रतिष्ठानमा हाल एमबीबीएससहित बीएस्सी नर्सिङ, ब्याचलर अफ फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी र पब्लिक हेल्थ विषयमा अध्ययन भइरहेको छ । साथै सात विषयमा एमडी कार्यक्रम सञ्चालनमा रहेको छ । यस वर्ष एमडी कार्यक्रमका लागि ९ विषय थप गरिएको छ भने सिट संख्या ८ बाट बढाएर २७ पु¥याइएको छ ।

२०७६ असोज २ गते ऐन पारित भएपछि स्थापना भएको प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा, अनुसन्धान र दक्ष चिकित्सक उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । ५० जनाको कुल कोटा रहेको एमबिबिएस कार्यक्रममा हालसम्म ४ विदेशीसहित ४६ जना विद्यार्थी भर्ना भएका छन् । यसै वर्ष व्याचलर अफ फार्मेसी विषयमा २६ जना, बिपिएच (जनस्वास्थ्य) विषयमा १३ जना, ल्याब मेडिकल बिषयमा १८ जना, बीएस्सी नर्सिङ विषयमा २६ जना विद्यार्थीहरु भर्ना भएका छन् ।

कार्यक्रममा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. बंशीधर मिश्र, स्वास्थ्य मन्त्रालयकी सचिव सुमित्रा गौतम, प्रतिष्ठानका डिन डा. अधिकारी पौडेल, प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा. डा. दिनेश कुमार लम्साल, हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरन बहादुर जोशी, प्रतिष्ठानका प्राध्यापकहरु लगायत नवप्रवेशी विद्यार्थी तथा अभिभावकहरुको सहभागिता थियो ।