हेटौँडा : हेटौँडा–९, लामसुरेधाप क्षेत्रमा चितुवा देखा परेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । पछिल्लो एक सातामा पटक–पटक चितुवा देखिएपछि त्यस क्षेत्रमा त्रास फैलिएको हो ।
स्थानीयका अनुसार गत शनिबार पनि सो क्षेत्रको जंगलमा चितुवा देखा परेको थियो । डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा चितुवा समात्नका लागि जंगल क्षेत्रमा बाख्रासहितको खोर थापिएको लामसुरेधाप टोल विकास संस्थाका अध्यक्ष बद्री प्रसाद आचार्यले जानकारी दिनुभयो । चितुवाको गतिविधि निगरानी गर्न दुईवटा क्यामरा समेत जडान गरिएको छ ।
‘चितुवा पटक–पटक बस्ती नजिकै देखिएपछि हामीले वन कार्यालयसँग समन्वय गरेर खोर राखेका छौँ’, अध्यक्ष आचार्यले भन्नुभयो । जंगल नजिकैको बस्ती भएकाले चितुवाले स्थानीय र पशुचौपायालाई क्षति पुर्याउन सक्ने भन्दै सर्वसाधारण त्रसित भएका हुन् । वन कार्यालय र वडा कार्यालयले चितुवा नियन्त्रणमा नआएसम्म साँझ–बिहानको समयमा सावधानी अपनाउन र जङ्गल क्षेत्रमा एक्लै नजान आग्रह गरेको छ ।











