भलिबल खेल्दै । फाइल तस्वीर ।

हेटौँडा : दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत भलिबल प्रतियोगिता आईतबारदेखि हुने भएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा शुक्रबारदेखि हेटौँडा–१० स्थित टिसिएन चौरमा महोत्सव सुरु हुँदैछ ।

जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता चैत्र १ गतेदेखि ३ गतेसम्म हुने छ । प्रतियोगिता विजेता टोलीले १ लाख र उपविजेता टोलीले ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । अन्य दुई टोलीले सान्त्वना पुरस्कार स्वरुप १५/१५ हजार नगसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीका लागि ७ हजार रुपैयाँ नगदसहित प्रतियोगितामा विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ । विधागत उत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा जिल्लाका खेलाडीहरु मात्र सहभागी हुन् पाउने आयोजकले जनाएको छ ।

यस्तै, खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिता चैत्र ४ गतेदेखि ८ गतेसम्म हुनेछ । प्रतियोगिता विजेता टोलीले ३ लाख र उपविजेता टोलीले २ लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । अन्य दुई टोलीले सान्त्वना पुरस्कार स्वरुप ५०/५० हजार नगसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीका लागि १५ हजार रुपैयाँ नगसहित प्रतियोगितामा विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ । विधागत उत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनेछ । महोत्सवमा विभिन्न खेलकुद र प्रदर्शनीका साथै मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ ।