
हेटौँडा : हेटौँडा–४, हुप्रचौरकी सन्ध्या मैनालीले आफ्नो व्यवसाय विस्तार गर्दै २ जनालाई रोजगारी दिएकी छिन् । ५ वर्षदेखि सन्ध्याज मेकअप स्टुडियो एण्ड ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आएकी सन्ध्याले हालै ३० लाख रुपैयाँ लगानी गरेर व्यवसाय विस्तार गरेकी हुन् ।
आफ्नै घरमा सञ्चालित व्यवसाय विस्तारसँगै थप २ जनाले रोजगारी पाएका छन् । यसअघि एकजनालाई रोजगारी दिएर व्यवसाय गरिरहेकी सन्ध्याले व्यवसाय विस्तारसँगै थप २ जनालाई रोजगारी प्रदान गरेको जानकारी दिइन् । ‘५ वर्ष एउटा कोठामा व्यवसाय सञ्चालन गर्दै आएको थिएँ । अहिले एउटा फ्ल्याटमा आकर्षक मेकअप स्टुडियो बनाएकी छु’, सन्ध्याले भनिन्, ‘पहिले एउटा कोठामा साँघुरो ठाउँ भएर बढीमा ५ जनालाई तालिम दिन सक्ने थियो । अहिले एकसाथ १५ देखि २० जनालाई तालिम दिन सकिने छ ।’
५ वर्ष काम गर्दै गर्दा सेवाग्राही सन्तुष्ट भएको र थप लगानी गर्न आवश्यक र उपयुक्त देखेर विस्तार गरिएको सन्ध्याको भनाइ छ । व्यवसाय विस्तार गरेपछि एक कार्यक्रमकाबीच आइतबार सन्ध्याज मेकअप स्टुडियो एण्ड ट्रेनिङ सेन्टरको उद्घाटन गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले ट्रेनिङ सेन्टरको उद्घाटन गर्नुभएको हो ।










