
हेटौँडा : प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश गौतम निर्वाचित भएका छन् । आईतबार सार्वजनिक भएको अनितम मत परिणाम अनुसार ३६ हजार ३३ मतसहित गौतम विजयी भएका छन् । गौतमले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) लाई पछि पार्दै निर्वाचित भएका हुन् ।
नेपाली काँग्रेसकी डिनाले १४ हजार ३८ मत प्राप्त गरेका हुन् । यस्तै नेकपा एमालेका उम्मेदवार रामेश्वर राना मगर १२ हजार ७ सय ८३ मतसहित तेस्रो हुँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विजय गौतम १० हजार ७८८ मतसहित चौथो र उज्यालो नेपाल पार्टीका उम्मेदवार सुरेन्द्र लामा १० हजार २०५ मतसहित पाँचौ स्थान हासिल गरेका हुन् ।
यसअघि सोहि क्षेत्रबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंह ४ हजार ५७४ मतसहित छैठो भएका हुन् । मकवानपुर क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४ सय ३५ मतदाता थिए । फागुन २१ गते भएको निर्वाचनमा ९५ हजार ८ सय ४३ मत खसेको थियो । जसमध्ये ९० हजार ७२५ मत सदर हुँदा ५ हजार ११८ मत बदर भएको थियो ।










