जेनजी आन्दोलनको परिणामस्वरुप घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सम्पन्न भई मतगणना भइरहेको छ । फागुन २१ गते बिहीबार देशभर एकैपटक सबै मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । कुनै अप्रिय घटनाबिना सहजरुपमा शान्तिपूर्ण मतदान सम्पन्न भएसँगै मतगणना सुरु भएर धेरै क्षेत्रको प्रत्यक्षतर्फको मतगणना टुंगिएको छ । आइतबारसम्म प्रत्यक्षतर्फको सबैतिरको मतपरिणाम आइसक्ने अनुमान गर्न सकिन्छ । शनिबार साँझ ८ बजेसम्म देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ८५ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । यस अवधिसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ६९ क्षेत्रमा विजयी भएका छन् भने मतगणना भइरहेको ५३ क्षेत्रमा अग्रस्थानमा छन् । नेपाली कांग्रेस ९ क्षेत्रमा विजयी भएर १० क्षेत्रमा अग्रस्थानमा रहँदा नेकपा एमालेले ३ क्षेत्रमा जितेर ८ क्षेत्रमा अग्रता लिएको छ । २ क्षेत्रमा जितेको नेपाली कम्युनिष्ट पार्टी ५ क्षेत्रमा अग्रस्थानमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारले एक–एक क्षेत्रमा जित्दा श्रम संस्कृति पार्टी ३ क्षेत्रमा अग्रस्थानमा रहेको छ ।

यस पटकको निर्वाचनको क्रममा देखिएको जनलहर अनुसार नै मतदानबाट पनि धेरैजसो क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । प्रत्यक्षतर्फ एक सय २० सिटको हाराहारीमा जित हासिल गर्ने सम्भावना देखिएको रास्वपाको समानुपातिकतर्फको मत पनि अरु दलहरुभन्दा निकै बढी आइरहेको छ । समानुपातिकको गणना सम्पन्न भएको करिब ८ लाख ३६ हजार मतमध्ये आधाभन्दा बढी अर्थात् करिब ४ लाख २५ हजार रास्वपाको छ । यसैअनुसार समानुपातिक मत रास्वपाले पाउने हो भने ५० देखि ५५ सिट समानुपातिकबाट जुटाउने सम्भावना देखिन्छ । प्रत्यक्ष र समानुपातिकबाट रास्वपाले प्रतिनिधिसभामा दुई तिहाइ नजिक जित्ने अवस्था देखिन्छ । पुराना दलहरु कांगे्रस, एमाले, माओवादी, राप्रपाले पाएको मत विगतको निर्वाचनको तुलनामा निकै कम रहेको छ ।

मतगणनाको प्रारम्भीक नतिजादेखि नै देशव्यापीरुपमा रास्वपाको पक्षमा देखिएको लहर र हालसम्म प्राप्त परिणामले अब मुलुकमा रास्वपाले सरकार गठन गर्ने निश्चित देखिएको छ । बालेन्द्र (बालेन) साहलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेर निर्वाचनमा होमिएको रास्वपाले बालेनकै कारण यो सफलता पाएको स्पष्ट छ । सहकारीको रकम हिनामिनाको आरोपमा विभिन्न जिल्लामा मुद्दा खेपिरहेका रास्वपा सभापति रवि लामिछानेप्रतिको सहानुभूतिले पनि रास्वपाको सफलतामा सहयोग गरेको मान्न सकिन्छ । दुई तिहाइ र स्पष्ट बहुमत हुँदा पनि अहिलेसम्म कुनै सरकारले पूर्ण समय काम गर्न नसकेको अवस्थामा यस पटक फेरि रास्वपाले पाउने देखिएको भारी बहुमतका कारण मुलुकले स्थिर सरकार पाउने आम नागरिकको अपेक्षा रहेको छ ।

विगतका राजनीतिक खिचातानी र गठबन्धन फेर्ने परिपाटी अन्त्य हुने आशाका साथ रास्वपालाई बहुमत दिएको मतदाताको स्पष्ट सन्देश रहेको छ । देशमा लामो समयदेखि स्थिर सरकार बन्न नसक्दा देखिएको सत्ता केन्द्रित राजनीतिलाई अन्त्य गरी ५ वर्षसम्म स्थिर सरकार बनाएर मुलुकमा सुशासन कायम गर्नुपर्ने सन्देश निर्वाचन परिणामले दिएको छ । निर्वाचनको क्रममा ल्याइएको घोषणापत्रको कार्यान्वयनसँगै भ्रष्टाचारको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने जिम्मेवारी रास्वपाले पूरा गर्नुपर्ने देखिन्छ । जेनजी आन्दोलनको मर्म र भावनाबमोजिम देशको शासकीय स्वरुप, प्रदेश संरचना, स्थानीय तहलगायत संवैधानिक जटिलता देखिएका क्षेत्रलाई कसरी सहज बनाउने भन्नेतर्फ पनि आगामी सरकारले ध्यान पु¥याउनुपर्ने आवश्यकता छ । आम नागरिकले धेरै आशा र विश्वास गरेर जाहेर गरेको जनमतको सम्मान गर्न रास्वपा अर्थात् बालेन सरकारले कसरी काम गर्छ देश र रास्वपाको भविष्य त्यसमै निर्भर हुने निश्चित छ ।