राप्रपाका पूर्वअध्यक्ष कमल थापा

हेटौँडा : प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर– ५ मा उम्मेदवार बनेका राप्रपाका पूर्वअध्यक्ष कमल थापाले लज्जास्पद हार व्यहोरेका छन् । उहाँले जमानतसमेत जोगाउन सक्नुभएन् ।

पार्टीभित्रका अन्य आकांक्षीलाई पेलेर जबरजस्ती टिकट हत्याउनु भएका थापालाई मतदाताले भने अस्वीकृत गरेका छन् । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सस्मित पोखरेल ३० हजार ७३७ मत ल्याएर विजय हासिल गर्नुभएको छ । दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ मत प्राप्त गर्दा नेकपा एमालेका हेभिवेट नेता ईश्वर पोखरेल ४ हजार ७०१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

तर, राप्रपाको चुनाव चिह्न लिएर उठेका कमल थापाले भने जम्मा १ हजार ९२२ मत मात्र प्राप्त गर्नुभयो । कुल सदर मतको १० प्रतिशत पनि ल्याउन नसकेपछि कानुनबमोजिम उहाँको जमानत जफत भयो ।

काठमाडौँ ५ बाट राप्रपाका तर्फबाट स्थानीय नेता हिक्मतजंग कार्कीले टिकट पाउने निश्चित भइसकेको थियो । तर, अन्तिम समयमा कमल थापाले आफ्नो प्रभाव प्रयोग गर्दै पेलेर उक्त टिकट आफूले लिएको आरोप लागेको थियो । लामो समयदेखि क्षेत्रमा खटिएका कार्कीको टिकट खोसिएपछि आक्रोशित हुँदै उहाँले राप्रपा नै परित्याग गर्नुभएको थियो ।

‘निरन्तर हारको शृंखला’
कमल थापाले २०४७ सालपछि भएका विभिन्न चुनावमा पटक–पटक उम्मेदवारी दिए पनि प्रत्यक्षतर्फ उनको नतिजा निकै कमजोर रहँदै आएको छ । उहाँले २०५१ सालबाहेक प्रत्यक्ष निर्वाचनमा जित निकाल्न सकेका छैनन् ।

०४८ साल (प्रतिनिधिसभा): मकवानपुर–१ बाट एमालेका कृष्णप्रसाद दाहालसँग पराजित ।
२०५१ साल (मध्यावधि) : मकवानपुर–१ बाट विजयी । तर, सोही चुनावमा मकवानपुर–२ बाट एमालेका विरोध खतिवडासँग पराजित ।
२०५६ साल (प्रतिनिधिसभा): मकवानपुर–१ मा एमालेका कृष्णप्रसाद दाहाल र मकवानपुर–३ मा एमालेकै वीरबहादुर लामासँग दुवै क्षेत्रमा पराजित ।
२०६४ साल (पहिलो संविधानसभा): मकवानपुर–३ मा माओवादीका प्रल्हाद लामिछानेसँग पराजित ।
२०७० साल (दोस्रो संविधानसभा): प्रत्यक्ष चुनाव नजिते पनि समानुपातिक सूचीबाट संसद् प्रवेश ।
२०७४ साल (प्रतिनिधिसभा): मकवानपुर–१ मा एमालेका कृष्णप्रसाद दाहालसँग पराजित ।
२०७९ साल (प्रतिनिधिसभा): मकवानपुर–१ मा एमालेबाट उम्मेदवार बनेर राप्रपाकै दीपक सिंहसँग पराजित हुँदै तेस्रो स्थानमा सीमित ।