हेटौँडा : मकवानपुरको भिमफेदी कारागारमा रहेका १ सय ६२ जना कैदीबन्दीले मतदान गर्ने भएका छन् । यसअघि नै मतदाता नामावलीमा नाम दर्ता भएका कारागारका १ सय ६६ जना कैदीबन्दीहरु रहेकोमा ४ जना निर्वाचन कार्यक्रमको अवधिमा छुटेकाले बाँकी १ सय ६२ जना कैदीबन्दीले सोही कारागारमा रहेको अस्थायी मतदान केन्द्रमार्फत मतदानमा भाग लिनेछन् ।

मतदानमा भाग लिने कैदीबन्दीहरु मध्ये १ सय ५८ जना पुरुष र ४ जना महिलाहरु रहेका छन् । कारागारबाट मतदानमा भाग लिन पाउने मकवानपुरका कैदीबन्दीहरु १ सय ९ जना रहेका कारागारका सूचना अधिकारी जीवन निरौलाले जानकारी दिनुभयो । भीमफेदी कारागार मतदान केन्द्रमा १ सय ६२ जना कैदीबन्दीहरुसहित कारागारका ३ जना कर्मचारी, मतदान केन्द्रका खटिएका कर्मचारीहरु ३ जना तथा सुरक्षाकर्मीहरु १९ जनाले मतदान गर्ने जनाइएको छ ।

मतदान गर्दा राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीहरुले समानुपातिकतर्फ मात्र मतदान गर्ने व्यवस्था गरिएको छ । हाल भीमफेदी कारागारमा पुरुष कैदीबन्दीहरु ९ सय ३१ जना, महिला ३५ जना र अन्य २ जना गरी कुल ९ सय ६८ जना कैदीबन्दीहरु रहेका छन् । भीमफेदी कारागारमा अस्थायी मतदान केन्द्र स्थापना समेत गरी मतदान गर्ने व्यवस्था मिलाइएको हो ।

यता जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा रहेका थुनुवाहरुले भने मतदान गर्न पाउने छैनन् । हाल जिल्ला प्रहरीको नियन्त्रणमा रहेका ७५ जना पुरुष तथा ६ जना महिलाहरु गरी कुल ८१ जना थुनुवाहरु भने मतदानबाट बञ्चित हुने भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभएको छ । अधिकांश लागू औषधसम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवाहरु हिरासत कक्षमा छन् । थुनुवाले मतदान गर्न पाउने व्यवस्था नभएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख निर्वाचन अधिकारी हरि प्रसाद ढकालले जानकारी दिनुभएको छ ।