सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, र धादिङ जिल्लामा ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

धादिङको गल्छी गाउँपालिका–४ मास्टारस्थित त्रिशुली नदी किनारमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–१ बोलुङका २२ वर्षीय बुद्धीमान तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । तामाङ गत माघ २८ गते साँझ ७ बजेर ३० मिनेटको समयमा घरायसी विवाद पश्चात घरमा कसैलाई नसोधी हिँडेका थिए । उनलाई फागुन ५ गते साँझ ५ बजेर ३० मिनेटको समयमा गल्छी गाउँपालिका–१ कल्लेरीमा स्थानीय शिवप्रसाद पौडेल र नारायणी तिमल्सिनाले तामाङलाई फेला पारी जिल्ला धादिङ र नुवाकोटको सिमानास्थित त्रिशुली नदी माथिको डाँडामा रहेको अस्थायी प्रहरी पोष्ट कोल्पुटार, नुवाकोटतर्फ लैजाँदै गर्दा प्रहरीले देखेपछि उनी भागेका थिए । बुधबार दिउँसो १ बजेको समयमा मास्टारस्थित त्रिशुली नदी किनारमा मृत अवस्थामा फेला परेका थिए । अनुसन्धानको क्रममा उनको मानसिक अवस्था ठिक नभएको बुझिएको प्रहरीले जानकारी दिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२३ खड्गौलीमा नहरको डिलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय लथुवा दराइ रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार राती ९ बजेको समयमा घर नजिकै रहेको नहरको डिलबाट लडेर लथुवा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सरकारी अस्पताल भरतपुर लगिएको थियो । अस्पतालका चिकित्सकले राती ९ बजेर २५ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

चितवनको खैरहनी नगरपालिका–९ सिमलटाँडी चोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । बिहीबार बिहान १ बजेर २० मिनेटको समयमा काठमाडौँबाट धनुषातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९०११ नम्बरको बसमा सवार धनुषा जिल्लाको धनुषा नगरपालिका–२, की ५२ वर्षीया सिकील देवी पूर्वेलाई सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२१७ नम्बरको बसले उनलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएकी पूर्वेलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा १ बजेर ३७ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । प्रदेश १–०२–००१ ख ९०११ नम्बरको बस भने गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय भण्डाराले नियन्त्रणमा लिएको छ ।