हेटौँडा:रोटरी क्बल अफ हेटौँडाको सहजीकरणमा रोट्र्याक्ट क्लब अफ हेटौंडाले हेटौँडा–४, हुप्रचौरस्थित अटिजम केन्द्रलाई खेल सामग्री प्रदान गरेको छ । सोमबार रोटरी ईन्टरनेशनलको १२१ औं वार्षिकोत्सवको अवसरमा अटिजम भएका बालबालिकाहरुको शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्याउने उद्देश्यले अटिजम केन्द्रलाई २३ हजार रुपैयाँ बराबरको बल, शैक्षिक खेलौना, बोर्ड गेम लगायत बालमैत्री खेल सामग्रीहरू हस्तान्तरण गरिएको रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष प्रमेश प्रधानले जानकारी दिनुभयो ।
अध्यक्ष प्रधानले खेल केवल मनोरञ्जन मात्र नभई यो सिकाइ, आत्मविश्वास विकास, सामाजिक घुलमिल र शारीरिक सक्रियताको प्रभावकारी माध्यम भएको बताउनुभयो । सहयोग सानो भए पनि बालबालिकाको दैनिक क्रियाकलापमा उपयोगी हुने उहाँको भनाइ छ । विशेषगरी अटिजम भएका बालबालिकाका लागि उपयुक्त खेल सामग्रीले उनीहरूको ध्यान केन्द्रित गर्ने क्षमता, समन्वय सीप र भावनात्मक अभिव्यक्तिमा सकारात्मक प्रभाव पार्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
केन्द्रका पदाधिकारीहरूले प्राप्त सामग्रीले बालबालिकाको सिकाइ, सामाजिक अन्तरक्रिया र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो । रोटरी क्बल अफ हेटौँडा र रोट्रयाक्ट क्बल अफ हेटौँडाका अध्यक्ष लगायत पदाधिकारीहरुको उपस्थिती रहेको उक्त खेल सामग्री हस्तान्तरण कार्यक्रममा अन्तरक्रिया समेत भएको थियो । अटिजम सेन्टरमा २५ जना बालबालिका रहेका छन् ।











