पुरस्कृत विद्यार्थी निकुञ्ज अधिकारी र रिदम घिमिरे ।

हेटौँडा:साहित्य सङ्गम मकवानपुरको ३६४ औं नियमित साहित्य सन्ध्याको अवसरमा दुइ जना बाल साहित्यकारहरुलाई पुरस्कृत गरिएको छ । शनिबार आयोजित एक कार्यक्रममा बालसाहित्यकारहरुलाई प्रदान गरिने अणकुमारी स्मृति साहित्य पुरस्कार निकुञ्ज कार्कीले तथा शेषजङ्ग स्मृति कथा पुरस्कार रिदम घिमिरेले प्राप्त गरेका हुन् ।

मकवानपुर बहुमुखी क्याम्पसमा कक्षा ११ मा अध्ययनरत कार्कीको ‘जीवन एक प्रयोगशाला’ शिर्षकको संस्मरण लेख साहित्य सङ्गमले आयोजना गरेको प्रतियोगितामा ८ जनालाई पछि पार्दै उत्कृष्ट हुन सफल भएको थियो । यस संस्मरणमा लेखकले आफ्ना जिवनमा भएका भोगाइलाई प्रस्तुत गर्दै जीवनलाई सकारात्मकतातर्फ लैजानुपर्ने उल्लेख गरेका छन् । यस्तै सोही समयमा भएको कथा प्रतियोगितामा ११ जना प्रतियोगीहरुलाई पछाडि पार्दै बालजागृति इंग्लिस सेकेण्डरी स्कूलमा कक्षा १० मा अध्ययनरत रिदम घिमिरेको ‘अधुरो बिहानी’ कथा उत्कृष्ट हुन सफल भएको छ । सो कथामार्फत घिमिरेले वर्तमान समयमा नेपालमा केही सम्भावना छैन भन्दै बिदेश जानेहरुलाई नेपालमा नै केही गरे युवा देशमै स्थापित हुन सकिन्छ भन्ने सन्देश दिएका छन् ।

दुवै पुरस्कारहरु नगद ५ हजार रुपैयाँ तथा प्रमाणपत्रसहित प्रदान गरिएको छ । साहित्य सङ्गम मकवानपुरले मकवानपुरका वरिष्ठ साहित्यकार आरसी रिजालले आफ्नी आमा अणकुमारी रिजालको स्मृतिमा स्थापना गर्नुभएको अणकुमारी स्मृति साहित्य पुरस्कार कक्षा ९ देखि १२ सम्म अध्ययनरत छात्राहरुलाई प्रदान गर्दै आएको छ । यो पुरस्कार साहित्य सङ्गमले प्रत्येक पटक साहित्यका विविध विधााहरु तोकेर प्रतियोगिता सञ्चालन गरी उत्कृष्टलाई प्रदान गर्दै आएको छ । यस्तै स्वर्गीय शिक्षक डेन्टीजंग शाहले छोरा शेषजंगको स्मृतिमा स्थापना गर्नुभएको कथा पुरस्कार भने कक्षा ९ देखि कक्षा १२ सम्मका छात्र तथा छात्रा दुवैलाई प्रदान गर्दै आएको छ । यो पुरस्कार भने कथा प्रतियोगितामा उत्कृष्ट हुनेले मात्र प्राप्त गर्दछ ।

कार्यक्रममा बालज्योति मावि पिप्लेका विद्यार्थीहरुले आफ्ना रचना वाचन गरेका थिए । यस्तै कार्यक्रममा विभिन्न साहित्यकारहरुद्वारा गजलसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा डा. निमेष निखिलले उपस्थित विद्यार्थीहरुलाई कविता लेखनका बिधिहरुबारे जानकारी दिनुभयो । उहाँले गद्य तथा छन्दका विविध कविता लेख्ने तरिकाहरुबारे समेत जानकारी दिनुभएको थियो । वरिष्ठ साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्य तथा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिबी बर्तौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका वरिष्ठ साहित्यकारहरुको उपस्थिति थियो ।