हेटौंडाः नेपाल पत्रकार महासंघले प्रेस लेखेर सवारी साधनको दुरुपयोग गर्नेलाई कारवाहीको माग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणलाई नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाका क्रममा देशका विभिन्न ठाउँमा कतिपयले सञ्चारकर्मीको परिचय दिई सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव रमेश विष्टले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जनतालाई सूसुचित गराउने प्रयोजनका लागि दिइएको सुविधालाई कसैले पनि दुरुपयोग गर्नु गम्भीर आपत्तिको विषय भएको उल्लेख गर्नुभएको छ । यस्ता दुरुपयोगले पत्रकारिता पेशाको प्रतिष्ठा र मर्यादामा आँच पुग्ने महासंघको ठहर छ । महासंघ पत्रकारिता पेशाभन्दा बाहिरका व्यक्तिहरुलाई आफ्नो सवारी साधनमा प्रेस लेखेर हिँड्डुल नगर्न आग्रह गर्दै महासंघले आम सञ्चारकर्मी र सञ्चार प्रतिष्ठनलाई पनि पेशागत कर्मका समयमा मात्रै प्रेस उल्लेख गरिएको सवारीसाधन प्रयोग गर्न, आफन्त वा साथीभाइलाई प्रेस पास नदिन र प्रेस पासको दुरुपयोग हुन नदिन सचेत गराएको छ ।
प्रेसपासको दुरुपयोग रोक्न महासंघ नेपाल प्रहरी लगायतका सम्बन्धित निकायहरुलाई महासंघले आग्रह गरेको छ । प्रेस उल्लेखित सवारी साधनमा सवार सबै यात्रुको प्रेस पास जाँच गर्न, प्रेस पास अधिकारिक भए नभएको निश्चित गर्न र सम्बन्धित व्यक्ति पत्रकारिताको पेशागत जिम्मेवारीमा हिँडेको वा नहिँडेको निश्चित गर्न महासंघले ट्राफिक प्रहरी कार्यालयसहितका सम्बन्धित निकायलाई अनुरोध गरेको छ । प्रेसको दुरुपयोग गरेको पाइएमा कानुनी कारवाही गर्न पनि महासंघले माग गरेको छ ।