हेटौँडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले तीन महिनाको अवधिमा १० हजार १ सय ४० जनाको राष्ट्रिय परिचयपत्रको लागि आवेदन दर्ता (रजिष्ट्रेसन) गराएको छ । चालु आर्थिक वर्षको कात्तिकदेखि पुससम्म तीन महिनाका अवधिमा १० हजार बढीको आवेदन दर्ता भएको हो ।

यस अवधिमा तयार भएका राष्ट्रिय पचियपत्र कार्ड १ हजार ८ सय १५ जनालाई वितरण गरिएको छ । यस अवधिमा जिल्ला प्रशासनले ३ हजार १ सय ३४जनालाई नयाँ नागरिकता वितरण गरेको छ । नयाँ नागरिकतामध्ये ४ जना बैबाहिक अंगीकृत र १२ जनालाई गैरआवासीय नागरिकता प्रदान गरेको कार्यालयले जनाएको छ । गैरआवासीय नागरिकता प्राप्त गर्ने १२ मध्ये ९ जना पुरुष र ३ जना महिला रहेका छन् ।

तीन महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालयले विविध शीर्षकमा ३ करोड ७७ लाख १० हजार राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । कार्यालयले १ करोड ४७ लाख ३३ हजार रुपैयाँ चालु बजेट तथा ३ लाख ६६ हजार पुँजीगत खर्च गरेकोसमेत जानकारी दिएको छ । कार्यालयले विपद् राहत अन्तर्गत २९ जनालाई १३ लाख २५ हजार रुपैयाँ र १२ द्वन्द्व पीडितको परिवारलाई ४ लाख ६० हजार रुपैयाँ राहतस्वरुप प्रदान गरेकोसमेत जनाएको छ ।

यस अवधिमा कार्यालयले वैदेशिक रोजगारसम्बन्धी समस्यामा परेका २ जनालाई २९ लाख ६१ हजार रुपैयाँ क्षतिपूर्तिस्वरुप प्रदान गरेको छ । यो समयावधिमा विभिन्न शीर्षकका ९० वटा मुद्दा दर्ता भएका छन् भने ३५ मुद्दाउपर फैसलासमेत भइसकेको छ । प्रशासन कार्यालयले यस अवधिमा मकवानपुरको तथ्याङ्क समन्वय कार्यालय, मालपोत कार्यालय हेटौँडा तथा आन्तरिक राजस्व कार्यालय हेटौँडामा अनुगमनसमेत गरेको जनाएको छ । यस अवधिमा विभिन्न ३ सय ७० वटा सिफारिसहरु गर्नुका साथै जिल्लामा ९ वटा थप संघसंस्थाहरु दर्ता भएका र पुराना १ सय १५ वटा संस्थाहरु नवीकरण गरेको कार्यालयले जनाएको छ ।