दौड प्रतियोगितामा प्रथम हुन सफल राजकुमार गोलेलाई पुरस्कृत गरिँदै ।

हेटौँडा : बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको खुला दौड प्रतियोगितामा बकैया–५ का राजकुमार गोले प्रथम भएका छन् । शुक्रबार जनयुद्ध दिवसको अवसरमा ७ किलोमिटर खुला दौड प्रतियोगिता भएको हो ।

प्रतियोगितामा हेटौँडा–४ का सुवास योन्जन द्वितीय र बकैया–७ का सचिन थिङ तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्राप्त गरेका छन् । सान्त्वनास्वरूप अन्य पाँच जनाले जनही २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । सान्त्वना पुरस्कार पाउनेमा अनिस थिङ, सचिन गुरुङ, राम चौधरी, दासु तामाङ र प्रदिप न्यासुर रहेका छन् ।

दौड बागमती–८, शान्तिपुरबाट सुरु भई बागमती–४, झुरझुरेस्थित बागमती गाउँपालिकाको कार्यालय पुगेर समापन भएको थियो । प्रतियोगितामा १६ वर्ष उमेर पूरा भएका ४० जना पुरुषहरूको सहभागिता थियो । आयोजकले प्रतियोगितामा सहभागी सबैलाई नम्बर अङ्कित टिसर्ट उपलब्ध गराएको थियो । पुरस्कार वितरण समारोह बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यमा भएको थियो ।