१. यो शहरलाई शैक्षिक हवको रुपमा विकास गर्छौं । मेरो क्षेत्र अब शैक्षिक हव बन्दैछ । यो नगर शैक्षिक हव भै सक्यो । यो उपमहानगरलाई शैक्षिक हव बनाएको मैले हो । यो महानगरको पहिचान भनेकै शैक्षिक हव हो । यस्ता मौसमी गफले शैक्षिक हवकै अर्थलाई तोडमरोड गरेर भ्रम छर्ने काम बढेको स्विकार गर्न सकिन्छ । शैक्षिक हव बनाउने कुरा भन्न सजिलो छ । भै सक्यो भन्न पनि रमाईलै हुन्छ । भनाई र यथार्थ मिल्न सहज हुन्न भन्नेमा धेरै सहमत बन्न सक्छन् । त्यसमा पनि शैक्षिक हव भन्न र बन्नमा त झनै गहिरो खाडल भेट्न सकिन्छ । शैक्षिक हव शैक्षिक गुणस्तरीयतासँग जोडिएको हुन्छ । शैक्षिक गुणस्तरीयता सुन्दर र विशाल भौतिक संरचना मात्र पनि होईन । शैक्षिक हवका लागि देशदेशावरबाट अध्ययनका लागि हज्जारौं विद्यार्थी आएर अध्ययन गर्नैपर्ने शर्त पनि हुन सक्छ । शैक्षिक हव हुनका लागि विश्वविद्यालय नै हुन अनिवार्य छ ? विद्यालय तहको शिक्षा प्रदान गर्ने स्थल मात्र पनि शैक्षिक हव बन्न सक्दैन र ? शैक्षिक प्रमाणपत्र वितरण गर्ने केन्द्र नै शैक्षिक हव हो त ? हामीले बुझेको हव निश्चित स्थान हो वा भवन हो ? अन्य, कुनै विधि वा प्रणाली हो ? अलि गहिराईबाट विश्लेषणको जरुरी छैन र ?

२. ‘हव’ शब्दले शिक्षाको केन्द्र मात्र हैन, शहरको केन्द्र पनि बुझाउँछ । मानव शरीरको हव भन्नाले आँखा बुझिन्छ भने प्रत्येक वस्तु वा पदार्थको महत्वपूर्ण भाग वा अंगलाई हव भनिन्छ । अत्यन्त संवेदनशील र महत्वपूर्ण क्षेत्रलाई हव भन्ने प्रचलन सोह्रौं शताब्दिबाटै प्रारम्भ भएको पाईन्छ । पछिल्लो कालखण्डमा मेडिकल हव, शैक्षिक हव, व्यापारिक हव, पर्यटकीय हव, औद्योगिक हव, उर्जा हव, रिसर्च हव, भाषा साहित्य तथा कलाका हव, जैविक विविधताको हव आदि अनेकौं विषयका हवहरुका बारेमा चर्चा सुन्न सकिन्छ । यी प्रत्येक विषय अन्तर्गत पनि अनेकौं विशिष्टीकरणका शाखा उपशाखाहरु पनि हवका रुपमा पहिचान बनिसकेका छन् । प्राचिन भारतवर्षमा नालन्दा विश्वविद्यालय र वाराणशी शैक्षिक हव बनिरहँदा मिथिलान्चलमा राजर्षी जनकको दरबार शास्त्रार्थका लागि हव भएको हामीले पढेका छौं । अक्सफोर्ड युनिभर्सिटी विश्व प्रसिद्ध शैक्षिक हव स्विकार गरिएको छ । वौद्ध शिक्षाको हवको रुपमा लुम्विनी हो भन्ने विश्वलाई थाहा छ । हाम्रो सन्दर्भमा हेटौंडा, बुटवल, बालाजु र विराटनगर औद्योगिक हवका शहर भनेर चिनिन्छन् । चितवन भरतपुरलाई मेडिकल हव भनिए जस्तै पोखरा तथा इलामलाई पर्यटकीय हव भनेर बुझिन्छन् । कतिपय स्थानलाई नकारात्मक कोणबाट पनि विभिन्न विधासँग जोडेर हव भनिएका ठाउँहरु हामीले सुनेका छौं ।

३. शैक्षिक हव बनाउने काम सहज र ठट्टा हुनै सक्दैन । कुनै संस्था वा स्थानलाई लहडबाजीमा शैक्षिक हवको संज्ञा दिनु पनि उपयुक्त होईन । शैक्षिक हवका लागि पहिलो शर्त भनेकै उच्च शैक्षिक गुणस्तरीयता नै हो । अध्ययनशीलता, खोज अनुसन्धान, विषयवस्तुको गहिराई सम्मको ज्ञान र सीप गुणस्तरीयताका आधार हुन् । सुविधा सम्पन्न आधुनिक प्रविधियुक्त आकर्षक भौतिक संरचना शैक्षिक हवका लागि अनिवार्य शर्त मानिएका छन् । सीपयुक्त, दक्ष, योग्य र क्षमतावान पर्याप्त जनशक्तिको जगमा शैक्षिक हवको पहिचान जोडिएको हुन्छ । त्यस्तै, विद्यार्थी मूल्याङ्कनको लागि वैज्ञानिक औजारहरुको प्रयोगमा वैध र विश्वसनीय परीक्षा प्रणाली अर्को शर्त स्विकार गरिएको छ । शैक्षिक हव त्यो स्थान वा विश्वविद्यालय जहाँबाट प्राप्त शैक्षिक उपाधीको सम्मान हुन्छ, तत्काल रोजगारीका लागि प्रस्ताव गरिन्छन् र उद्योगी, व्यवसायी अर्थात सरकारी वा गैरसरकारी क्षेत्रले खोजिरहेका हुन्छन् । अनि, कम लगानी गरेर धेरैले पहुँच बनाउन सक्ने स्थान भएको विश्वविद्यालयमा धेरैको आकर्षण बन्छ नै । टाढा टाढाबाट र दुनियाँका दूरदराजका शिक्षार्थीका लागि सपनाको विषय बन्नैपर्छ । सरकारको शैक्षिक नीति र प्रणाली विद्यार्थीमैत्री हुनैपर्छ । शिक्षा लिनेदिने दुबैका लागि मैत्रीपूर्ण र सहज वातावरण अर्को जरुरी शर्तको रुपमा हेरिएको छ । आज विश्वकै शैक्षिक हवको देश भनेर फिनल्याण्ड, डेनमार्क, ब्रिटेन, अष्ट्रेलिया, अमेरिका, चीन, रुस, जापान आदि मुलुकको नाम लिने धेरै छन् । एउटा विश्वविद्यालय सबै विषयको हव नहुन सक्छ । एउटै विषयका पनि अनेकौं विशिष्टीकृत शिर्षकहरु पर्याप्त भेटिन्छन् ।

४. एउटा निश्चित कालखण्डमा शैक्षिक हव बनेको शहर अर्को कुनै समयमा विगतको पहिचान कायम नहुन सक्छ । कुनै समयमा निश्चित विषयको हव बनेको विश्वविद्यालय खास समय पश्चात अर्को विषयको हव पनि त बन्न सकछ । समयसँगै स्थान परिवेशका अनेकौं परिवर्तनलाई स्वभाविक मान्न सकिन्छ । हिमाली भूगोलमा मौसम प्रतिकूलताका कारणले घुम्ती विद्यालय संचालनका बाध्यताहरु देखिएकै छन् । हिजो धरासायी भएको संस्था आज शिखरमा हुनसक्छ । विगतमा उच्च स्थानमा रहेको शिक्षण संस्था आज इतिहासका पानामा सीमित बनेका उदाहरण अनेकौं छन् । उदाहरणका लागि हाम्रो देशका कुनै बेलाका दरबार हाईस्कूल, त्रिजुद्ध हाईस्कूल, त्रिभुवन विश्वविद्यालय र यस अन्तर्गतका ठाकुरराम बहुमुखी क्याम्पस, नेपाल ल क्याम्पस, पृथ्वीनारायण क्याम्पस, मोरङ क्याम्पस लगायतका संस्थाहरुलाई लिन सकिन्छ । विगतको सीमित विद्यालय र कलेज हुँदाका अवस्थासँग आजको च्याउ सरहका विद्यालय तथा कलेजहरु तुलना गर्न सकिन्छ । हिजो नाम चलेका प्रसिद्ध शिक्षण संस्थाहरु कतिपय आज इतिहास बनिसकेका छन् भने आज कतिपय शहर सरकारी र गैरसरकारी स्कूल कलेजका कारणले नयाँ शैक्षिक हवको रुपमा उदाइरहेका छन् । यसको पछिल्लो उदाहरणका रुपमा हेटौँडालाई लिन सकिन्छ । बागमती प्रदेशको राजधानी हेटौँडा बनिसकेपश्चात यो शहर मुलुक र बाहिर समेत चिनिन थालेको छ । विशेषतः मधेश प्रदेशका विद्यार्थीमा आकर्षण वृद्धिका कारणले हेटौँडाका शैक्षिक संस्थाहरुमा विद्यार्थीको चाप बढेको तथ्यमा विमति छैन । भोलिको मधेशमा शैक्षिकस्तरमा सुधार हुने हो र परीक्षा प्रणालीमा स्वच्छता आउने स्थितिमा मधेशमै विद्यार्थी रोकिने अवस्था नआउला भन्न सकिन्न ।

५. पछिल्लो दशकमा शिक्षण संस्थाका भौतिक संरचनाहरुमा आएको परिवर्तन सराहनीय भन्नै पर्दछ । कक्षाकोठाहरु आकर्षक बनेका छन् । आज स्मार्टबोर्डहरुले हिजोको ब्ल्याकबोर्डलाई प्रतिस्थापन गरिरहेका छन् । विद्यालय र कलेजहरुमा विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याव, अंग्रेजी, सामाजिक, गणित, लगायतका विषयगत ल्यावहरु सहज देख्न सकिन्छ । हिजोको शिक्षक केन्द्रित व्याख्यान विधिको ठाउँमा आज प्रोजेक्टर तथा स्मार्टबोर्डबाट विद्यार्थी केन्द्रित विधिहरु अपनाइएका छन् । शिक्षण संस्थाहरु विद्यार्थीका घर–आँगनमा पुगेकाले कक्षाकोठामा विद्यार्थी अभाव आजको अर्को समस्या बनेको छ । विगतमा विद्यार्थीले स्कूल कलेज खोज्दथे तर आज स्कूल कलेजहरु विद्यार्थी खोजिरहेका छन् । शैक्षिक हवका लागि शिक्षा प्रणाली महत्वपूर्ण पक्ष हो । समयानुकूल र सान्दर्भिक शिक्षा प्रणाली नै आकर्षणको केन्द्र बन्न सक्छ ।

आजको विश्व अति साँघुरो बनेकोमा बिमती छैन । तसर्थ शिक्षा व्यवस्थाले शिक्षार्थीको भावना र चाहना अनि उनीहरुको आवश्यकता सम्बोधन गर्नैपर्छ । यो सरकारी नीति र दृष्टिकोणमा निर्भर गर्दछ । शिक्षा जीवनोपयोगी हुनैपर्दछ भन्ने पहिलो शर्त हो भने सीपयुक्त, व्यावसायिक, खोजमूलक, नवप्रवद्र्धक र अनुसन्धानात्मक भएमा मात्र शैक्षिक हव बन्न सक्छ । शैक्षिक हवका लागि स्कूल कलेज धेरै चाहिने होइन । स्तरीय शिक्षा यसका लागि अनिवार्य पक्ष हो । हामी हाम्रो शिक्षा प्रणाली र यहाँको शैक्षिक अवस्थाबाट शैक्षिक हवका लागि के कस्ता विषयमा ध्यान दिनुपर्दछ भन्ने कोणबाट आधारभूत कुराहरुको विश्लेषण गर्न सक्दछौं । शैक्षिक सरोकारवालासँगको बहस र अन्तरक्रियाबाट जिम्मेवार निकायहरु शैक्षिक हवका लागि सकारात्मक बन्ने अपेक्षा गर्न सकिन्छ ।