हेटौँडाः ताइवानमा सम्पन्न ताइवान अन्तर्राष्ट्रिय साइन्स फेयर–२०२६ मा हेटौँडाका सफल कुमालले चौथो स्थान हासिल गर्न सफल भएका छन् । राष्ट्रिय ताइवान विज्ञान शिक्षा केन्द्रको आयोजनामा फेब्रुअरी २ देखि ७ तारिखसम्म भएको वैज्ञानिक मेलामा हेटौँडाका कुमालले बनाएको ‘साइरन अफ होप’ प्रोजेक्टले वातावरणीय इन्जिनियरिङ विधामा चौथो स्थान हासिल गर्न सफ भएको हो ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टमा कक्षा ११ मा अध्ययनरत कुमालले बनाएको प्रोजेक्ट ‘साइरन अफ होप’ ले विशेषगरी मनसुनको समयमा हुने पहिरोको पूर्वसूचना दिनुका साथै माटोको चिस्यान र पहाडको अवस्थालाई निगरानी गरी सम्भावित दुर्घटना हुनुअगावै समुदायलाई सचेत गराउँछ ।
विभिन्न ३२ देशका ६ सय ६७ जना शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगिताको फाइनलका कुल २ सय ३१ वटा परियोजना छनोट भएको थियो । गणित, भौतिक विज्ञान, रसायन विज्ञान र कम्प्युटर विज्ञानसहित विभिन्न १३ वटा विधामा सहभागीहरुले प्रस्तुतिकरण गरेका थिए ।
एस्ट्रोनोभा फाउण्डेसन नेपाल, हेटौँडा अनुसन्धान तथा आविष्कार केन्द्रमार्फत कुमाल यस प्रतियोगितामा सहभागी भएको आविष्कार केन्द्रका सञ्चालक किशन बास्तोलाले जानकारी दिनुभयो । सञ्चालक बास्तोलाका अनुसार विगत ३५ वर्षदेखि हुँदै आएको यस प्रतियोगितामा नेपालले तेस्रो पटक सहभागिता जनाएको हो । गत वर्षको प्रतियोगितामा पनि नेपालले चौथो स्थान हासिल गरेको थियो । चौथो स्थान हासिल गर्न सफल ‘साइरन अफ होप’ प्रोजेक्ट अनुसन्धान तथा आविष्कार केन्द्रको सहयोगमा तयार पारिएको उहाँले बताउनुभयो ।
बास्तोलाका अनुसार हेटौँडा अनुसन्धान तथा आविष्कार केन्द्रले वर्षेनि आयोजना गर्ने एस्टिम एक्स्पोमा सहभागी विद्यार्थीले मात्र ताइवान अन्तर्राष्ट्रिय साइन्स फेयरमा सहभागी हुने अवसर पाउँछन् । फाउण्डेसनले विगत ३ वर्षदेखि एस्टिम एक्स्पो आयोजना गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
वैज्ञानिक मेलाको मुख्य उद्देश्य युवा वैज्ञानिकहरुमाझ नवीन सोच र आविष्कारको संस्कृतिलाई बढावा दिनु हो । यस मेलाले विद्यार्थीहरुलाई आफ्नो अनुसन्धान प्रस्तुत गर्ने मञ्चमात्र नभई, संस्कृति तथा ज्ञान आदानप्रदान गर्ने र बलियो अन्तर्राष्ट्रिय सञ्जाल बनाउने सुनौलो अवसर प्रदान गर्ने हेटौँडा अनुसन्धान तथा आविष्कार केन्द्रका सञ्चालक बास्तोलको भनाइ छ ।
‘सिमित स्रोत र साधनका बाबजुद पनि अन्तर्राष्ट्रिय मञ्चमा कुमालले प्राप्त गरेको यो गौरवमय उपलब्धिले के स्पष्ट पारेको छ भने यदि सरकारले उचित वातावरण र लगानी सुनिश्चित गर्ने हो भने हाम्रा युवाहरु विश्वलाई नै नेतृत्व गर्न सक्षम छन् ।’ बास्तोलाले भन्नुभयो । नेपाली युवाहरुमा प्रतिभाको कमी छैन, मात्र अवसर र सही मार्गदर्शनको खाँचो रहेको उहाँको भनाइ छ ।











