सामाजिक विषयको परियोजना कार्य प्रदर्शनीमा मौलिक पोशाकमा सहभागी विद्यार्थीहरु ।

हेटौँडा : हेटौँडा–८, कमानेस्थित माउन्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कूलका विद्यार्थीले विषयगत परियोजना कार्यको प्रदर्शनी गरेका छन् । मंगलबार दुई चरणमा विद्यार्थीले परियोजना कार्य प्रदर्शनी गरेका हुन् । विद्यार्थीले विज्ञान, गणित, नेपाली, अंग्रेजी, सामाजिक, स्वास्थ्य विषयका परियोजना कार्य प्रदर्शन गरेका हुन् ।

कक्षा–१ देखि कक्षा–५ सम्मका विद्यार्थीले तयार पारेका प्रदर्शनी बिहान र कक्षा–६ देखि कक्षा–९ सम्मका विद्यार्थीले तयार पारेका परियोजना कार्य दिउँसो प्रदर्शन गरिएको थियो । विद्यार्थीका विषयगत प्रदर्शनीलाई अभिभावक र सरोकारवालाले अवलोकन गरेका थिए । विद्यालयका सञ्चालक एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालबहादुर श्रेष्ठसहित ३ सय ५० भन्दा बढी अभिभावकले प्रदर्शनीको अवलोकन गरेको प्रिन्सिपल रामहरि रिमालले जानकारी दिनुभयो । कक्षागत रुपमा विद्यार्थीले अध्ययन गरेका विषयको अभ्यास परियोजनाको रुपमा तयार पारेर प्रदर्शनी गरिएको प्रिन्सिपल रिमालले बताउनुभयो ।

‘विद्यार्थीको नियमित पठनपाठनबाट के कति, के कस्तो सिकाई भयो भनेर जान्न, बुझ्नका लागि परियोजना कार्य गराई त्यसको प्रदर्शनी गरिएको हो’, प्रिन्सिपल रिमालले भन्नुभयो, ‘परियोजना कार्यको अभ्यासका क्रममा नियमित पठनपाठनमा रुचि नदेखाउने विद्यार्थीले पनि रुचिका साथ अभ्यास गरिएको पाइयो । हामीले विद्यार्थीका प्रस्तुतीलाई शिक्षकहरुले अवलोकन गरेर विद्यार्थीको सिकाई र आगामी दिनमा गर्नुपर्ने सुधारको विषयमा आवश्यक प्रयास गरिनेछ ।’

विद्यार्थीको प्रभावकारी सिकाईका लागि आगामी शैक्षिकसत्रमा विद्यार्थीका लागि १५–१५ दिनमा विषयगत, तहगत प्रदर्शनी गर्ने योजना बनाइएको प्रिन्सिपल रिमालले बताउनुभयो । १० कक्षासम्म पठनपाठन हुने माउन्ट एभरेष्टमा ९ सय विद्यार्थी अध्ययनरत छन् । माउन्ट एभरेष्टबाट यस वर्ष ३७ जना विद्यार्थीले एसईई दिँदैछन् ।