तस्वीरः गुगल ।

मकवानपुर जिल्लामा कोरोनाको सङ्क्रमण तीव्ररुपमा बढिरहेको सन्दर्भमा सम्बन्धित निकायहरुले आआफ्नो क्षेत्रबाट गरिरहनु भएको कार्य सराहनीय छ । आफ्नो घर परिवार छाडेर आफ्नो दायित्य निर्वाह गर्न लागी पर्नु भएको छ । रोगको प्रकोप बढेसँगै कामहरु पनि बढ्न गएको छ । मानिसहरुको असन्तुष्टि पनि बढ्न गएको छ । शतप्रतिशत सन्तुष्ट बनाउन अवश्य पनि सकिँदैन यो शाश्वत सत्य हो । हामीले गरेका धेरै राम्रा कामहरु सतहमा नै हराउँछन् नराम्रा एउटा काम सतह भन्दा धेरै माथि आएर राम्रा कामहरु सबै ओझेलमा पर्छन् । यस्तो बेला कोरोनाको क्षेत्रमा दिलो ज्यान दिएर लागीरहनु भएकाहरुलाई लाग्न सक्छ यसरी मरी मेटेर काम गर्दा पनि हामीले सबैको गाली सुन्नु पर्दछ भने किन मरी मेटेर काम गर्नु ? जिल्लावासीहरु तपाईहरुको दायित्व भएकाले बढी भन्दा बढीलाई सन्तुष्टि बनाएर आफ्नाबाट भएका गल्तिहरुलाई कहाँ, कसरी कम गर्न सकिन्छ भनेर कार्य गर्दा अझ राम्रो हुन्छ होला ।

सुधीर भद्र

सर्वप्रथम पीसीआर परीक्षणको दायरा र परिणाम चाँडो भन्दा चाँडो निकाल्नु पर्ने अपरिहार्यता देखिएको छ । जिल्लामा समुदायस्तरमा रोगको सङ्क्रमण फैलिन थालेको अवस्था छ । परीक्षणको दायरा नबढाईकन हामीले सङ्क्रमित सङ्ख्या पत्ता लगाउन सक्दैनौं । देखिएका सङ्क्रमित मात्रको गणना गर्‍यौं भने नयाँ सङ्क्रमित फेरी फेरी थपिन सक्छन् । कम्तिमा एक घर एकजनाको परीक्षण गर्दा जिल्लामा विद्यमान रोगीको पहिचान गरी उचित व्यवस्थापन गर्न सजिलो हुन्छ । यसपछि बाहिर जिल्लाबाट मकवानपुर आवत–जावत पूर्णरुपमा कडा गर्नु पर्दछ । अहिले पनि विभिन्न स्वास्थ्य संस्थाको कार्ड, औषधि उपकरण, दुध, तरकारी र अन्य खाद्य पदार्थ ढुवानीको नाममा चोरी छिपी अन्य सर्वसाधारणको पनि आवत–जावत भइरहेको देखिन्छ । यस किसिमको आवत–जावतलाई सम्बन्धित संघ, संस्थाको काममा गएको हो होईन पत्ता लगाई सजिलै किसिमले गर्ने गरेको आवत–जावतलाई तुरुन्त बन्द गर्नु पर्दछ ।

पीसीआर परीक्षणको नतीजा चाँडो प्राप्त हुन नसक्दा सङ्क्रमितले अरु धेरै सङ्क्रमणको सङ्ख्या बढाउन सक्ने देखिन्छ । प्रयोगशालाबाट परीक्षणको नतीजा चाँडो प्राप्त गर्नका लागि उपकरण खरिद गर्नुपर्ने भए हाल स्थानीय तहहरुले छुट्टाएको बाटो–घाटो, मठ–मन्दिर, भवन निर्माण जस्ता विकासे खर्च रकम सबै कट्टा गरी उपकरण खरिद गर्न लागी पर्दा राम्रो हुन्छ होला । हाल एक सातादेखि दुई सातासम्म लागीरहेको समयलाई घटाएर बढीमा २ दिनमा प्रयोगशाला परीक्षणको नतीजा निकाल्ने व्यवस्था गरौं, यसो गर्दा रोगीको पहिचान चाँडो भई अन्यमा सङ्क्रमण फैलाउन सक्ने सम्भावना कम हुन्छ ।

रोगीको पहिचान भइसकेपछि कोही सङ्क्रमित भए के गर्ने र कसो गर्ने भन्ने विषयमा स्पष्ट जानकारीको अभाव देखिन्छ । कन्ट्याक्ट ट्रेसिङका लागि सम्बन्धित वडा स्वास्थ्य इकाईहरुले काम गरिरहेको छ । यसलाई अझ प्रभावकारी बनाउँदा राम्रो होला । होम आईसोलेसन बस्दा के गर्ने, के नगर्ने, दुई साता भएपछि के गर्ने र आफ्नो स्वास्थ्यको अन्य नियमित परीक्षण कसले कसरी गर्छ भन्ने कुरामा अन्यौल रहेको अवस्था देखिन्छ । त्यसको लागि स्वयंसेवी संघ, संस्थाहरुका लागि निश्चित जिम्मेवारी दिएर कार्य गराएर सबैलाई सूचनाको प्रवाह गर्न सकिन्छ होला ।

हाल परीक्षणको नतीजाहरु विभिन्न माध्यमहरुबाट आउन थालेको छ, कुनै बेला हस्तलिखित, कुनै बेला आईसोलेसन सेन्टरकै पत्रमा हस्ताक्षर नभएको लिस्ट बाहिर आएको देखिन्छ । आधिकारिक व्यक्तिको जानकारी बिना सूचनाहरु बाहिर आएको जस्तो देखिन्छ । बिरामीको सङ्ख्या र कोरोना सङ्क्रमणको बारेमा जानकारी गराउन एकद्वार प्रणाली लागु गरे राम्रो हुन्छ होला । यसबाट बाहिर जनमानसमा सही सूचना मात्र बाहिर आउने र अनावश्यक रुपमा त्रसित हुने वातावरण हुँदैन । केहि अगाडि एउटा बैंकको १ जना कर्मचारी सङ्क्रमित भएकोमा बाहिर ९ जनाको समाचार आएको थियो भने एउटा अस्पतालको १ जना कर्मचारी हुनु पर्नेमा २ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएको समाचारहरु बाहिर आएको थियो । समाचार प्रकाशन प्रसारण गर्ने निकायले पनि सम्बन्धित कार्यालयहरुसँग समन्वय गरेर समाचार प्रकाशन गर्दा सही सूचनाको प्रवाह हुन्थ्यो होला । विगतमा नगर उपप्रमुखबाट जानकारी दिने प्रयास शुरु भएको पनि थियो । हाल यसको निरन्तरता दिन पाए अझ बेस हुन्थ्यो होला ।

हेटौंडा–४, कर्रामा आइसोलेसन हुँदा सायद थोरै बिरामीहरु थिए जसले गर्दा व्यवस्थापन गर्न सजिलो भएको थियो । हेटौंडा–६, गौरिटारमा आइसोलेसन स्थानान्तरण गर्ने बित्तिकै विभिन्न किसिमका समस्याहरु देखा परे । समस्याहरु खासै ठूलो जस्तो लाग्दैन अलिकति व्यवस्थापनका लागि भएको असमझदारी मात्र होला । यदि खाना नै ढिलो भएको भएपनि स्पष्ट रुपमा बिरामीहरुलाई भनिदिएको भए सायद विरामीहरुले अहिले परिस्थिति बुझेर त्यसलाई ठूलो बनाउदैन थिए होला । अर्को सामान्य सम्बोधनमा भएको विषय आएको छ । मन मिलेको बेला जत्रो ठूलो कुरा भने पनि केहि लाग्दैन जब मन मिल्दैन सानो सानो कुराहरु पनि ठूलो हुन जान्छ । यसमा विरामीको र कर्मचारी दुबैको बोल्ने शैलीले नकारात्मक प्रभाव पारेको हुन सक्छ । कर्मचारीहरु तनावमा थिए होला, तनावलाई उचित व्यवस्थापन गर्न सके यस किसिमको दुर्घटना निम्तिँदैन थिए होला । कर्मचारीहरुका लागि सबै विरामीलाई एउटै जानकारी दिएको जास्तो लाग्छ तर विरामी जसले जिज्ञासा राख्दछ उसले सम्बन्धित कर्मचारीहरुसँग धेरै अपेक्षा गरेको हुन्छ । यो कुरालाई आइसोलेसनमा बस्ने कर्मचारीहरुले ध्यान पुर्‍याई दिनु भए धेरै राम्रो हुने थियो होला ।

सबैजना एकजुट होऔं सबैले आ–आफ्नो क्षेत्रबाट रोग विरुद्ध लडनका लागि ऐक्यवद्धता जाहेर गरौं । सबैले सबै क्षेत्रबाट सकारात्मक सोँच एवम् चिन्तन् गर्‍यौं भने अवश्य पनि हामीले कम क्षत्तिमा यो रोग विरुद्ध विजय हासिल गर्न सक्छौं ।

sudhirshrestha.htd@gmail.com

(लेखक हेटौंडास्थित हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत हुनुहुन्छ ।)