शिक्षकलाई सम्मान गरिँदै ।

हेटौँडा : हेटौँडा–१७ स्थित बालबोध माध्यमिक विद्यालयले ७४औँ वार्षिकोत्सव मनाएको छ । मंगलबारदेखि विविध कार्यक्रमसहित सुरु भएको विद्यालयको वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक दीपकलाल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानाध्यापक श्रेष्ठका अनुसार वार्षिकोत्सवको अवसरमा विद्यालयले मंगलबारदेखि शुक्रबारसम्म विविध प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो । वार्षिकोत्सवको अवसरमा म्युजिकल चेयर, ज्याभलिन थ्रो, भलिबल, सामुदायिक विद्यालयका शिक्षकहरुबीच हाजिरीजवाफ प्रतियोगिता लगायतका प्रतियोगिताहरु आयोजना गरिएको थियो । विद्यालयमा २०५२ सालदेखि प्राथमिक तहमा कार्यरत शिक्षक लक्ष्मी चौलागाईलाई विशिष्ट सेवा पुरस्कार प्रदान गरिएको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, माध्यमिक तहकी अंग्रेजी शिक्षक मन्दिरा रेग्मी र आधारभूत तहको नेपाली शिक्षक बच्चु सापकोटा उत्कृष्ट शिक्षक घोषित हुनुभयो । यसैगरी वर्षको उत्कृष्ट खेलाडी श्वेता डंगोल, वर्षको उत्कृष्ट विद्यार्थी कक्षा ९ की सविता श्रेष्ठ र वर्षको उत्कृष्ट अभिभावक भरत नेपाल घोषित भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप अर्यालको अध्यक्षतामा भएको समापन समारोहमा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष बद्रीबहादुर केसी र सल्लाहकार नवराज विष्टको उपस्थिति रहेको थियो ।