प्रथम कोइलीदेवी माथेमा मातृभूमि पुरस्कार प्रदान गरिँदै ।

हेटौँडा : प्रथम कोइलीदेवी माथेमा स्मृति मातृभूमि पुरस्कार–२०८२ हेटौँडाकी बाल गायिका सुलज्ञा राज्यलक्ष्मी शाहलाई प्रदान गरिएको छ । शनिबार हेटौँडामा कोइलीदेवी माथेमा स्मृति विशेष कार्यक्रममा कोइलीदेवी गायिका तथा संगीतकारको परिचर्चा गर्दै शाहलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

शाहलाई ११ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो । हेटौँडा–११ की सुलज्ञा हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलमा कक्षा ५ मा अध्ययनरत छिन् । सुलज्ञा आँचल साहित्य कला पुञ्जद्वारा आयोजित गायन प्रतियोगितामा दोस्रो भएकी थिइन् भने म यस्तो गीत गाउँछु कार्यक्रमको जुनियर सेसनमा प्रथम भएकी थिइन् । कार्यक्रममा केदार न्यौपानेले कार्यक्रममा भीमफेदीसँग कोइलीदेवी माथेमाको इतिहासदेखिका विषयमा व्याख्या गर्नुहुँदै विभिन्न अनुभवहरु सुनाउनुभएको थियो । गायिका तथा संगीतकार कोइलीदेवीको जन्म मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको थियो । १९८७ साल भाद्र शुक्ल ऋषि पञ्चमीका दिन जन्मनुभएकी उहाँको संगीतमा हरिप्रसाद रिमाल, तारादेवी, प्रेमध्वज प्रधान लगायतले स्वर दिनुभएको छ ।

उहाँले रेडियो नेपालमा लामो समय काम गर्नुभएको थियो । आमाको मृत्युपछि फुपू मानप्रिया भट्टसँग रहनुभएकी कोइलीदेवीले जुद्धशमशेरको सिंह महलमा संगीत सिक्नु भएको थियो । २००७ सालदेखि रेडियो नेपालमा शास्त्रीय संगीत सिक्दै काम गर्नुभएकी कोइलीदेवीले २०१८ सालमा सर्वोत्तम संगीतकार स्वर्ण पदक समेत प्राप्त गर्नुभएको थियो । रेडियो नेपालको पहिलो महिला गायिका समेत रहनुभएकी कोइलीदेवीले २०२१ सालमा साकार भक्त माथेमासँग विवाह गर्नुभएको थियो । रेडियो नेपालमा २०४४ मा शास्त्रीय संगीत प्रबन्धकको रुपमा समेत काम गर्दै २०५१ सालमा रेडियो नेपालबाट अवकाश लिनुभएको थियो । उहाँको २०६४ साल पुष ६ गते ७८ वर्षको उमेरमा काठमाडौँमा मृत्यु भएको थियो । उहाँले गोरखा दक्षिणबाहु, छिन्नलता गीति पुरस्कार लगायत दर्जनौं पुरस्कार तथा धेरै पदक र सम्मान प्राप्त गर्नुभएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामा, महाकाव्यकार मुना अर्याल, मातृभूमि साहित्य समाजका प्रमुख संरक्षक एवम् साहित्यसेवी मुक्ति गोविन्द वैद्यको पनि आतिथ्य रहेको थियो । मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।