मनकामना मन्दिर जाने बाटोमा सरसफाई गरिँदै ।

हेटौँडा: हेटौँडा–५, पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयले ५०औँ वार्षिकोत्सव (स्वर्ण महोत्सव) को अवसरमा बुधबार सार्वजनिकस्थल सरसफाई र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । स्वर्ण महोत्सवको तेस्रो दिन विद्यालयका शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिका पदाधिकारीको सहभागितामा सार्वजनिक तथा धार्मिकस्थल सरसफाई गरिएको शिक्षक अमित श्रेष्ठले जानकारी दिनुभयो ।

सरसफाई कार्यक्रम अन्तर्गत राईटोलदेखि मनकामना मन्दिरसम्मको बाटो तथा मन्दिर परिसरमा सफाई गरिएको हो । विद्यार्थीलाई वातावरण सफा राख्नु पर्छ भनेर व्यावहारिक रुपमा सिकाउन तथा स्वास्थ्यप्रति सचेत गराउने उद्देश्यले विद्यालयले सरसफाई कार्यक्रम आयोजना गरेको बताइएको छ ।

यस्तै विद्यालयले बुधबार नै आयोजना गरेको विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा (जिएस) निकेतन माध्यमिक विद्यालयकी छात्रा आरोही राई प्रथम भएकी छिन् । प्रतियोगितामा हेटौँडा–८, नागस्वतीस्थित तासिर इंग्लिस बोर्डिङ् स्कूलका बसन्त साह द्वितीय र हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको सचि मिश्रा तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिता संस्थागत तथा सामुदायिक गरी विभिन्न १५ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी भएकाहरुलाई बुधबार नै प्रमाणपत्र वितरण गरिएको छ भने माघ २६ गते पुरस्कार वितरण गरिने विद्यालयले जनाएको छ । विद्यालयले माघ १९ गतेदेखि २८ गतेसम्म विविध कार्यक्रम र प्रतियोगिताहरु आयोजना गरी स्वर्ण महोत्सव मनाउँदैछ ।