हेटौंडाः नेपालमा कोरोना भाइरसबाट ७१ जना पत्रकार, सञ्चारकर्मी सङ्क्रमित भएको नेपाल पत्रकार महासंघले जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै महासंघले स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्न पत्रकार तथा सञ्चारकर्मीलाई अपिल समेत गरेको छ ।

महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा कोरोना भाइरस सङ्क्रमणको दर वृद्धि भएसँगै नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको विज्ञप्तिमा उल्लेख छ । हालसम्म ६ प्रदेशका पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित हुन पुगेको महासंघले जनाएको छ । प्रदेश नम्बर १ मा मोरङ जिल्लाका १२ जना र उदयपुरका १ जना गरी १३ जना सङ्क्रमित भएका छन् । प्रदेश २ को पर्सामा १३ जना, बारामा ४ जना, धनुषामा २ जना, सप्तरीमा ३ जना, सर्लाहीमा ३ जना, महोत्तरीमा र रौतहटमा १/१ जना सङ्क्रमित भएका छन् । बागमती प्रदेशको काठमाडौंमा ९ जना र ललितपुरमा २ जना गरी ११ जना सङ्क्रमित भएको महासंघले जनाएको छ ।

यसैगरी गण्डकी प्रदेशमा कास्कीका १ जना, र नवलपुरका ७ जना गरी ८ जना पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएको महासंघले उल्लेख गरेको छ । प्रदेश नम्बर ५ मा बाँकेका २ जना, बर्दियाका १ जना, कपिलवस्तुका ६ जना र रुपन्देहीमा २ सङ्क्रमित भएका छन् । कर्णाली प्रदेशको दैलेख जिल्लामा १ जना पत्रकार सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत छन् । महासंघले उपचाररत सबै पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

विषम परिस्थितिमा पनि सङ्क्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर नेपाली सञ्चार क्षेत्रले निर्वाह गरिरहेको भूमिका सराहनीय रहेको उल्लेख गर्दै महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु सङ्क्रमणको उच्च जोखिममा रहेका छन् । महासंघ सङ्क्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गर्दछ ।’ स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै काम गर्न महासंघले आम पत्रकार तथा सञ्चारकर्मीहरुमा अपिल गरेको छ ।