हेटौँडा : हेटौँडा–१०, बसपार्कस्थित एक होटलबाट लागूऔषध खैरो हेरोइन कारोबार गरेको अभियोगमा प्रहरीले एक नाबालिका र एक युवतीलाई पक्राउ गरेको छ । स्थानीय समुदायको गुनासोपछि प्रहरीले बिहीबार साँझ ५ बजेर ४५ मिनेटको समयमा बसपार्कस्थित एक होटलमा छापा मारेको थियो । छापा मार्ने क्रममा हेटौँडा–३ की २१ वर्षीया परिना मगर र एक नाबालिकालाई लागूऔषध खैरो हेरोइन १२० मिलिग्रामसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्थानीयको गुनासोका आधारमा प्रहरीले छापा मार्ने क्रममा नाबालिका र परिनालाई होटलको कोठाबाट पक्राउ गरेको हो । पक्राउ परेका दुबैजना लागूऔषध प्रयोगकर्तासँगै कारोबारी भएको प्रहरीको भनाइ छ । लागूऔषध प्रयोगकर्ता अधिकांश छोटो समयमै लागूऔषध कारोबारी बन्ने गरेको प्रहरीले जनाएको छ । लागूऔषध खैरो हेरोइन प्रयोगकर्ताका लागि महंगो हुने भएपछि भारतसँगको सीमावर्ती रक्सौल पुगेर आफूलाई प्रयोग गर्न र विक्री गरेर आम्दानी समेत गर्ने गरी अधिकांश प्रयोगकर्ता कारोबारी बन्ने गरेको प्रहरीले स्पष्ट पारेको छ ।
बिहीबार नै हेटौँडा–१ का १८ वर्षीय एनोस मगरलाई हेटौँडा अस्पताल परिसरबाट लागूऔषध खैरो हेरोइन ५० मिलिग्रामसहित पक्राउ गरेको जनाएको छ । यस्तै प्रहरीले बिहीबार दिउँसो ४ बजे हेटौँडा–११ नमूना टोलबालबाट हेटौँडा–११ का २४ वर्षीय श्रीकृष्ण बिकलाई लागूऔषध ट्रामाडोल २०० क्यापसुलसहित पक्राउ गरेको छ ।
शनिबार पनि मकवानपुर प्रहरीले ३ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । शनिबार राती ११ बजेको समयमा मनहरी–३, हाँडीखोलाबाट मनहरी गाउँपालिका–३ का २३ वर्षीय जनक घलान र २२ वर्षीय सुदीप शर्माको साथबाट लागूऔषध खैरो हेरोइन ८५० मिलिग्रामसहित पक्राउ गरेको छ । यस्तै शनिबार राती १ बजेर ३० मिनेटको समयमा हेटौँडा–१२, बीचरोडका २४ वर्षीय सुशील गोलेलाई घरबाटै ७६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
लागूऔषधसहित पक्राउ परेका सातै जनालाई मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान तथा कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।











