हेटौँडा : हेटौँडा–११ स्थित सहिद स्मारकमा सहिद दिवस मनाइएको छ । शुक्रबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, प्रथम मुख्यमन्त्री डोरमणि पौडेलसहित विशिष्ट व्यक्तिको उपस्थितिमा सहिद दिवस मनाइएको हो ।
माघ १० गतेदेखि सप्ताहव्यापी सहिद दिवस कार्यक्रमको सुरुवात गरिएको थियो । शुक्रबार सहिदप्रति सलामी अर्पण गर्दै सहिद स्मारकमा माल्यार्पण गरी श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो ।
राणा शासन विरुद्धको आन्दोलनमा वि.सं. १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुमा रहेको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । स्मारक विकास समितिले सहिद सप्ताह–२०८२ को अवसरमा हरेक वर्ष झै यो वर्ष पनि माघ १० गतेदेखि १६ गतेसम्म सहिदहरुको सम्झनामा विविध कार्यक्रम आयोजना गरेर दिवस मनाएको हो । यसैबीच श्रीचन्द्र शर्मा स्मृति सम्मान–२०८२ बालकुमारी थापा स्मृति केन्द्रलाई प्रदान गरिएको छ । केन्द्रकी अध्यक्ष जुनेलीमाया श्रेष्ठलाई प्रदेश प्रमुख देवकोटाले नगद २५ हजार राशीसहित सम्मानपत्र प्रदान गर्नुभयो ।











