पत्रकारका लागि निर्वाचन आचारसंहिताबारे अन्तरक्रियामा सहभागी पत्रकारहरु ।

हेटौँडा : पत्रकारहरुसँग निर्वाचन आचारसंहिताको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरका पत्रकारहरुसँग अन्तरक्रिया आयोजना गरेको हो ।

कार्यक्रममा प्रदेश निर्वाचन अधिकृत हरिप्रसाद ढकालले आचारसंहिताबारे प्रस्तुती राख्नुभएको थियो । उहाँले पर्यवेक्षकको काम हेर्ने र देख्ने हो नकी मतदानस्थलमा गएर बोल्ने बताउनु भयो । कार्यक्रममा बोल्नु हुँदै मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत देवेन्द्रराज अचार्यले कर्मचारी चुनाव गराउने माध्यम मात्रै भएको बताउनु भयो । जसले आचारसंहिता उल्लंघन गर्छ उसलाई उजागर गर्ने संयन्त्र मिडियासँग भएको उहाँको भनाइ छ ।

यसैगरी कार्यक्रममा बोल्नुहुँदै मकवानपुरका वरिष्ठ पत्रकार प्रताप विष्टले पत्रकारहरु निश्पक्ष भएर सबै पार्टीलाई समान रुपमा हेर्नु पर्ने बताउनुभयो । अहिले सबभन्दा बढी जोखिममा पत्रकार रहेको र जसले जिते पनि पत्रकारलाई केहि फाइदा नहुने उहाँले बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीको उपस्थिति रहेको थियो ।