हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा एकैदिन २ जनाको मृत्यु भएको छ । प्रदेशको सिन्धुली र धादिङ जिल्लामा आइतबार २ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित २ नम्बर बजारबाट उद्दार गरिएको वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाई–६ बस्ने ७४ वर्षीय देवीबहादुर पुर्बाछाने रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान ८ बजेर १० मिनेटको समयमा देवीबहादुर आफ्नो पक्की घरको दोस्रो तलाको कोठामा लडेर छटपटाइरहेको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएकोमा आइतबार साँझ ७ बजेर ४० मिनेटको समयमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा माटोको ढिस्को खसेर पुरीँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय मानबहादुर प्रजा रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार साँझ ४ बजेर १० मिनेटको समयमा रामचन्द्र रुपाखेतीको घरको पछाडिको भित्तामा प्लास्टर गर्ने क्रममा माथिबाट माटोको ढिस्को झर्दा बेनिघाट रोराङ–३ बस्ने अन्दाजी ४५ वर्षका मानबहादुर प्रजा र ३० वर्षका सुदीप प्रजा पुरिएका थिए । उनिहरुलाई उद्धार गरि उपचारका लागि मलेखु टिचिङ अस्पताल लगिएको थियो । उपचारका क्रममा साँझ ६ बजेर ५० मिनेटको समयमा चिकित्सकले मानबहादुरलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।











