हेटौँडा : मुक्तक मञ्च मकवानपुरको ३० औँ नियमित मुक्तक वाचन शृङ्खला तथा पोखराकी साहित्यकार सरु लामिछानेद्वारा रचित मुक्तक संग्रह ‘भिरको फूल’को विमर्श कार्यक्रम सम्पन्न भएकोे छ । मुक्तक मञ्च मकवानपुरको आयोजनामा शुक्रबार हेटौँडामा सम्पन्न कार्यक्रममा करिब एक दर्जन साहित्यकारहरुले मुक्तक वाचन गरेका थिए ।
पोखराकी साहित्यकार सरला लामिछाने (सरु) को कृति ‘भिरको फूल’ बारे डा. विश्वनाथ सञ्जेलले समीक्षा गर्नुभएको थियो । कृतिको समीक्षा गर्दै साहित्यकार डा. सञ्जेलले फरकफरक परिस्थितिमा आउने संवेग, आशा, निरासा, प्रेमलगायतका मिश्रित परिवेशका मुक्तकहरु कृतिमा समावेश गरिएको बताउनुभयो । कृतिमा समसामयिक समस्या तथा भावनाहरु, महिला मनोविज्ञानका पाटाहरु समेटिएको बताउनुभयो ।
यस्तै, कृतिमा लैङ्गिक समानता भएको समाज बनाउने कल्पना, कुरितिको बिरोध, न्यायपूर्ण समाजको सपना, गरिबिका समस्याहरु समावेश भएका सशक्त मुक्तक संग्रह भएको समीक्षक सञ्जेलले टिप्पणी गर्नुभयो । तनहुँको शुक्लागण्डकी–१२, फिरफिरेमा जन्मिनुभएकी साहित्यकार सरला लामिछाने (सरु) २०६५ देखि मुक्तक मञ्च पोखरामा आबद्ध भई २०७१ देखि २०७३ सम्म अध्यक्ष रहनुभएको थियो ।
समाजशास्त तथा पत्रकारितामा स्नातक र विकास अध्ययनमा स्नातकोत्तर गर्नुभएकी लामिछाने विगत १४ वर्षदेखि पोखराको रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जमा साहित्यिक कार्यक्रम मुक्तकयात्रा सञ्चालनसमेत गर्दै आउनुभएको छ । उहाँ मुक्तकबाहेक गजल, कविता, गीत तथा लघुकथा लेखनमा समेत सक्रिय हुनुहुन्छ ।
मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा मकवानपुरका २ दर्जन साहित्यकारहरुको उपस्थिति थियो ।











