नृत्य प्रतियोगितामा प्रथम हुन सफल समूहलाई पुरस्कृत गर्नुहुँदै सहायक प्रिन्सीपल रामपण्डित खनाल ।

हेटौँडा : श्रीपञ्चमीको अवसरमा हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले लोक सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरेको छ । आन्तरिक रुपमा सम्पन्न नृत्य प्रतियोगितामा नेपालका विभिन्न जातजाति तथा संस्कृति विशेष पहिचान गराउने भेषभुषासहितको मौलिक नृत्यहरु समावेश भएका थिए ।

प्रतियोगितामा लिम्बु जातिको बिजुवा पारा नृत्य प्रस्तुत गर्दै विज्ञान संकायमा अध्ययनरत युमा महारानी समूह प्रथम भएको छ । केयान्सा बल, आगत भुजेल सारथी, अनुषा पाख्रिन, सुज्यान लोप्चन, प्राश्ना श्रेष्ठ, अस्मिन लामा, आयुष घिसिङ, कञ्चन लामा स्याङ्तान, मनषा श्रेष्ठ र एदिश कुमार चौधरीको समूह प्रथम हुँदै ५० हजार रुपैयाँ प्राप्त गरेको छ । यस्तै, प्रतियोगितामा विज्ञान संकायकै सैयुन्शा मुल्मी, श्रेयान्सु न्यौपाने, तनिशा लामा बल, पुजा माझी, प्रिती तिमल्सिना, दृष्टि विडारी र जेसिका स्याङ्तानको समूह ‘चेली : द भिक्टर’ ले हुड्केली नृत्य प्रस्तुत गर्दै द्वितीय हुन सफल भएको छ । द्वितीय भएको उक्त समूहले ४० हजार रुपैयाँ नगद प्राप्त गरेको छ । विज्ञान संकायकै मारुनी समूहले सरस्वती माता गीतमा नृत्य प्रस्तुत गर्दै तृतीय भएको छ । तृतीय हुने इशा श्रेष्ठ, प्रमाङ्गी ढोडारी, आइशा शर्मा, स्मृति अधिकारी, शुभेच्छा लामा, अनिष रायमाझी र जेयल गुरुङको समूहले नगद ३० हजार प्राप्त गरेको छ ।

प्राचार्यको रोजाइमा परेर प्रोत्साहनस्वरुप मारुनी नृत्य गरेको व्यवस्थापन संकायका पद्मा आकाशी नृत्य समूहलाई २० हजार नगद प्रदान गरिएको छ । पद्मा आकाशी नृत्य समूहमा नलिना शर्मा, आश्रिती कुइँकेल, प्रिन्सा पोखरेल, रश्मि ब्लोन, कश्मिरा कार्की, अजय चौधरी, नान्सी हिम्डुङ र दिपिका चौधरी थिए । विज्ञान संकायमा अध्ययनरत स्नेहा भुजेलको मगर नृत्य तथा व्यवस्थापन संकायको छैंठौं सखिया समूहको थारु नृत्य सान्त्वना हुन सफल भएका छन् । सखिया समूहमा रश्मि स्याङ्तान, प्रहरी ढुंगेल, प्रतिमा सुनार, लिजा बलामी, श्रेया कार्की र निर्जला थिङले नृत्य प्रस्तुत गरेका थिए । सान्त्वना समूहहरुले १५/१५ हजार नगद प्राप्त गरेका छन् । नृत्यमा सहभागी सबै समूहलाई १० हजार रुपैयाँ नगद प्रदान गरिएको छ ।

नेपाल फिल्म डान्स एसोयिसनका सदस्यहरु सुरेन्द्र बसेल तथा रिसुक सुवेदी निर्णायक रहनुभएको प्रतियोगितामा १९ वटा नृत्य समूहहरु सहभागी भई नृत्य प्रस्तुत गरेका थिए । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका डिन प्राध्यापक डा. महानन्द चालिसेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सरस्वती पूजा पनि सम्पन्न भएको थियो । कार्यक्रममा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्राचार्य पुरनबहादुर जोशी, सहायक प्राचार्य रामपण्डित खनाललगायत क्याम्पसका शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति थियो ।