हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा झण्डै ३ करोड रुपैयाँ कम राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८२/०८३ को पुस महिनासम्म २ करोड ७९ लाख ९३ हजार रुपैयाँ कम राजस्व संकलन भएको हो ।
हेटौँडा उपमहानगरपालिकाले आन्तरिक आयमार्फत नै तिर्न सकिने अनुमान गर्दै संशोधित बजेटमा खर्चको रकम बढाउँदै गर्दा आन्तरिक राजश्वमा भने गत वर्षभन्दा कमी आएको हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म उपमहानगरपालिकाका वडा कार्यालयहरु तथा राजश्व शाखामार्फत १९ करोड ७४ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तभित्र १६ करोड ९४ लाख ४४ हजार रुपैयाँमात्र संकलन भएको हो ।
उपमहानगरपालिकाले गत आर्थिक वर्ष ४ करोड ९४ लाख ६१ हजार रुपैयाँ सम्पति कर संकलन गरेकोमा चालु आर्थिक वर्ष ४ करोड ९० लाख ८७ हजार संकलन गरेको छ । व्यवसायीले भुक्तानी गर्ने राजस्व गत वर्ष १ करोड ८३ लाख ११ हजार संकलन भएकोमा यस वर्ष केही कम भई १ करोड ६१ लाख ४३ हजार संकलन भएको छ ।
गत आर्थिक वर्षमा ४८ लाख ५० हजार कवाडी संकलन तथा बिक्री कर संकलन गरेको उपमहानगरले चालु आर्थिक वर्षको पुससम्म ठेक्का विवादका कारण कवाडी संकलन तथा बिक्री कर संकलन गर्न सकेको छैन । यस वर्ष ढुङ्गा, गिट्टी बालुवाको बिक्रीबाट संकलन हुने राजस्व पनि कम भएको छ । उपमहानगरपालिकाले ४० हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्ने निर्णय गरेकोमा राष्ट्रपति चुरे ंसंरक्षण कार्यालयले १४ हजार घनमिटर क्षेत्रफलमात्र उत्खननका लागि अनुमति दिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले जानकारी दिनुभयो । वडाहरुमा ठेक्का लगाइएको स्थानमा नदीजन्य पदार्थ उत्खनन गर्न नदिइएको कारण राजस्व संकलनमा कमी आएको हुनसक्ने उहाँले बताउनुभयो ।
आन्तरिक स्रोतबाट बजेट प्राप्त हुनसक्ने आँकलन गर्दै बजेट संशोधन गरी खर्च बढाइएकोमा राजस्व प्रात हुने स्रोतको कमी हुँदै जाने देखिन्छ । यस वर्षको ६ महिनाको अवधिमा व्यवसायीहरुले कर छुटको मौकामा राजस्व तिरेको भए पनि यसपछि सडक विस्तारका क्रममा प्रभावित भएका व्यवसायीहरुले सहजै राजस्व बुझाउन सक्ने अवस्था देखिँदैन ।











