हेटौँडा : सिविन नेपाल मकवानपुरको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । बुधबार सिविन नेपालका अध्यक्ष माधव प्रधानको सभाध्यक्षतामा कार्यक्रम भएको हो । हेटौँडामा आयोजित कार्यक्रममा संस्थाले आफ्नो कार्य प्रगति र पारदर्शिताका विषयमा सरोकारवालाहरूलाई जानकारी गराएको छ ।
कार्यक्रममा अधिवक्ता मनप्रसाद भट्टराईले सामाजिक परीक्षणको अवधारणा, परिभाषा, प्रकार, सैद्धान्तिक आधार र यसको प्रक्रियाबारे प्रस्तुतिकरण दिनुभयो । उहाँले सामाजिक परीक्षण कानुनी प्रक्रियामात्र नभई एक सहभागितामूलक मूल्याङ्कन पद्धति र आधुनिक सुशासनको महत्वपूर्ण पक्ष भएको बताउनुभयो ।
सिविन नेपाल मकवानपुरले हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका विभिन्न स्थानमा बालश्रम न्यूनीकरणका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । संस्थाले बाल हेल्पलाइन १०९८ मार्फत प्राप्त हुने जानकारी र स्थानीय तह तथा विद्यालयको सिफारिसका आधारमा अप्ठ्यारोमा परेका बालबालिकाहरूलाई सहयोग पु¥याउँदै आएको जानकारी दिएको छ ।
संस्थाले मनहरी–३ स्थित प्रजा माध्यमिक विद्यालयका ६ वटा कोठामा र हेटौँडा–११ स्थित शंकरज्योति माध्यमिक विद्यालयका ७ वटा कोठामा पङ्खा जडान गरी शैक्षिक वातावरणमा सुधार ल्याएको जनाएको छ । यसैगरी, आर्थिक सशक्तिकरणतर्फ ५ वटा परिवारलाई आयआर्जन वृद्धिका लागि सहयोग र ३ जनालाई जीवन उपयोगी सीपमूलक तालिमको प्रदान गरिएको छ ।
बालबालिकाको चौतर्फी विकासका लागि बाल सञ्जालहरूलाई हरेक त्रैमासिकरूपमा खेलकुद र स्टेशनरी सामग्री सहयोग गर्दै आएको संस्थाले हेटौँडाका १२ वटा र मनहरीका ९ वटा विद्यालयमा बाल संरक्षणसम्बन्धी नीति निर्माण र कार्यान्वयनमा समेत महत्वपूर्ण भूमिका खेलिरहेको जनाएको छ ।
राष्ट्रिय बालअधिकार परिषद् र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा सिविन नेपालद्वारा मकवानपुर जिल्लामा सञ्चालित बाल हेल्पलाइनमा सन् २०२५ मा कुल ४ सय ९ वटा घटानाहरु दर्ता भएको बाल हेल्पलाइनका प्रबन्धक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीका अनुसार घटना दर्ता भई सेवा लिएकामध्ये १ सय ७२ जना बालबालिकाहरु आपतकालीन आवासको संरक्षणमा बसेर सेवा लिएका छन् । सबभन्दा बढी आर्थिक समस्या र शैक्षिक सहायतासम्बन्धी घटना दर्ता भएको उहाँले बताउनुभयो । हेल्पलाइनमा बालश्रम शोषणको ४८ वटा, बालबालिका हराएको ४७ वटा, बालविवाहको ३६ वटा र यौन दुव्र्यवहारको ११ वटा घटना दर्ता भएको छ ।
संस्थाले बाल हेल्पलाइन १०९८ मार्फत प्राप्त हुने जानकारी र स्थानीय तह तथा विद्यालयको सिफारिसका आधारमा अप्ठ्यारोमा परेका बालबालिकाहरूलाई सहयोग पु¥याउँदै आएको जानकारी दिएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्य रहेको कार्यक्रममा मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगर र हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेको आतिथ्य रहेको थियो ।











