कम्प्युटर प्रयोगशाला उद्घाटनपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : रोटरी क्लब अफ हेटौँडाले मनहरी गाउँपालिका–७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयलाई कम्प्युटर प्रयोगशाला हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमका बीच क्लबले नवनिर्मित प्रयोगशालाको उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरेको हो ।

प्रयोगशालामा २१ वटा कम्प्युटरहरु रहेका छन् । विद्यार्थीलाई प्रविधियुक्त शिक्षा प्रदान गर्ने उद्देश्यले रोटरी क्लब, मनहरी गाउँपालिका, इडियुटेक नेपाल र विद्यालयको संयुक्त लगानीमा प्रयोगशाला निर्माण गरिएको हो । प्रयोगशाला निर्माणका लागि खर्च भएको १० लाख रुपैयाँमध्ये रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट र मनहरी गाउँपालिकाले २५/२५ प्रतिशत योगदान रहेको छ । एडु–टेक नेपालले ५० प्रतिशत अर्थात् ५ लाख रुपैयाँ बराबरको प्राविधिक सहयोग उपलब्ध गराएको छ । कम्प्युटर प्रयोगशालाका लागि आवश्यक पूर्वाधार अन्तर्गत फर्निचर, रंगरोगन र विद्युतीय सामग्री व्यवस्थापनमा विद्यालय र मनहरी गाउँपालिकाले संयुक्तरूपमा थप ५ लाख रुपैयाँ खर्च गरेका छन् ।

उद्घाटन कार्यक्रममा रोटर इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर विनोद कोइरालाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्नुहुँदै गभर्नर कोइरालाले प्रयोगशालामा भएका कम्प्युटरहरुबारे जानकारी दिनुभयो । एक जना शिक्षकले एकै ठाउँबाट सबै कम्प्युटरलाई नियन्त्रण गर्न सक्ने उहाँले बताउनुभयो । कम्प्युटरमा इन्टरनेट नभए पनि प्रयोग गर्न सकिने पर्याप्त शैक्षिक सामग्री रहेको उहाँले बताउनुभयो । कम्प्युटर शिक्षकमात्र नभई अन्य विषयगत शिक्षकहरुले पनि कम्प्युटरको प्रयोग गरेर पठनपाठन गराउने उद्देश्यसाथ प्रयोगशाला निर्माण गरिएको गभर्नर कोइरालाको भनाइ छ । विद्यालयले बढीभन्दा बढी प्रयोग गरेर राम्रो नतिजा ल्याएपछि अन्य ठाउँमा पनि यस्ता कार्यहरु गर्न क्लब उत्साहित हुने उहाँले बताउनुभयो ।

रोटरीले विद्यार्थीलाई प्रविधियुक्त शिक्षासँग जोड्न सन् २०१८ देखि इडियुटेक नेपालको सहकार्यमा यो कार्यलाई निरन्तरता दिएको छ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गत नेपाल र भुटानमा गरी १ सय ६० वटा क्लब रहेका छन् । कार्यक्रममा बोल्नुहुँदै मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले यस कदमले गाउँपालिकाको प्राविधिक शिक्षासम्बन्धी उत्तरदायित्व पूरा गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष कालाखेतीले कम्प्युटर शिक्षाले भविष्यमा धेरै अवसरहरु सिर्जना गर्ने भएकोले अहिलकोे समयमा कम्प्युटर शिक्षा अनिवार्यरुपमा सबैले प्राप्त गर्नुपर्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम बानियाँको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अतिथिहरु रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का सचिव सुवास सिग्देल, फस्र्ट लेडी विभा अधिकारी र रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष प्रमेश प्रधानको उपस्थिति रहेको थियो ।