आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको कार्य पर्सी मंगलबार हुँदैछ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार पर्सी माघ ६ गते मंगलबार देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ताको कार्य हुनेछ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन आइसक्दा पनि मतदाताले भने उम्मेदवार को हुँदैछ भनेर थाहा पाउने अवस्था छैन । खासगरी प्रमुख दलहरुले उम्मेदवार चयन यकिन गर्न सकेका छैनन् । निर्वाचन क्षेत्रगत हिसाबले दलले उम्मेदवार तोक्ने बाहेक राजनीतिक एवम् सामाजिक सक्रियताका हिसाबले उम्मेदवार हुने चरित्र पहिचान गर्न पनि आम मतदातालाई सजिलो छैन ।

बहुदलीय व्यवस्थामा दलहरुले नेतृत्व विकास गर्ने, नेता, कार्यकर्तालाई जिम्मेवारी दिएर जनमानसमा आफ्नो पहिचान बनाउने संस्कृतिको अभाव छ । अझ दलहरुमा नेताको प्रभाव र दवावमा उम्मेदवार चयन गर्ने गलत प्रवृत्ति समग्रमा लोकतन्त्रकै समस्याको रुपमा स्थापित छ । आसन्न निर्वाचनको हकमा भन्ने हो भने जेन जी आन्दोलनपछि उत्पन्न विशिष्ट परिस्थितिपछि निर्वाचनको कार्यक्रम तय भएको हो । आकस्मिकरुपमा निर्वाचन हुनुले पनि दलहरुले उम्मेदवार चयनको विषयमा समस्या व्यहोर्नु परेको भन्ने तर्क पनि गर्न सक्छन् । तर, लोकतन्त्रवादी दलहरु निरन्तर राजनीतिक कर्ममा क्रियाशील रहँदै गर्दा आवधिक निर्वाचनबाहेक मध्यावधि वा यस्तै विशिष्ट परिस्थितिमा हुने निर्वाचनमा पनि उम्मेदवार चयनका लागि तयार रहनुपर्ने हो ।

निर्वाचन भनेको सत्तामा पुग्ने अवसर पनि हो । सत्तामा पुग्ने अवसरलाई आत्मसात गर्न राजनीतिकर्मीको आकर्षण जत्ति छ त्यसलाई व्यवस्थापन गर्न दलहरु भने असमर्थ देखिन्छ । दलहरु व्यवस्थित ढंगले सञ्चालनमा रहिरहेको भए आज निर्वाचनका बेला उम्मेदवार चयन गर्न यस किसिमको सकस हुने थिएन । निर्वाचनकै कारण नेपाली काँग्रेसभित्र ठूलो मतभेद देखियो । जसका कारण बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन गरिरहँदा सभापति र उहाँ निकटको एक समूहले विशेष महाधिवेशन बहिष्कार गर्ने अवस्था आयो । काँग्रेस विभाजित हुने जोखिम अझै छ । दलहरु निर्वाचनको मुखमा फुट्नु, जोडिनु दुबै लोकतन्त्रकै लागि प्रमुख चुनौति हो । अल्छी विद्यार्थीले परीक्षाको समयमा तयारी सुरु गरेजस्तै दलहरुले निर्वाचनको मिति नजिकिएपछि मात्रै तयारी सुरु गर्नु उपयुक्त हुन्न ।

यतिबेला निर्वाचनको संघारमा दलहरुले कसलाई उम्मेदवार बनाउँछन् भनेर मतदाताको चासो छ । मतदाताले आफ्नो क्षेत्रमा प्रभावशाली राजनीतिक व्यक्तित्व पनि देखेका छैनन् । यस्तोमा केही युवा, नयाँ अनुहारले आफूलाई उम्मेदवारको रुपमा प्रस्तुत पनि गरेका छन् । राजनीति सजिलो विषय पक्कै होइन । आम निर्वाचन जो कसैको बसको विषय पनि होइन । यसर्थ विद्यमान राजनीतिक प्रवृत्तिहरुको आलोचना गर्न जति सजिलो छ त्यस्ता प्रवृत्ति विरुद्ध लड्न त्यत्ति सजिलो छैन । यतिबेला पुराना भनिएका दलहरुले राम्रा उम्मेदवार प्रस्तुत गर्न नसक्ने, नयाँ भनिएकाहरुले जिम्मेवारीपूर्ण तरिकाबाट आफूलाई प्रस्तुत गर्न नसकिरहँदा आम निर्वाचन निष्प्रभावी हुने, क्षमतावान प्रतिनिधि चयन नहुने हो कि भन्ने जोखिम पनि छ । यसर्थ यस पटकका लागि त ढिलो भयो, ढिलो भइसक्यो, कम्तिमा आगामी समयका लागि दलहरुले आआफ्ना सक्षम उम्मेदवारको एक समूहलाई तयारी गर्न, तयार हुन, समुदायमा आफ्नो उपस्थितिलाई सावित गर्ने गरी क्रियाशील रहन निर्देशित गर्ने, त्यस्ता पात्रलाई पार्टीले साथ, सहयोग गर्ने गरी अगाडि बढ्ने वातावरण बनाउँदै प्रतिनिधि चयनको सवल प्रक्रियाको रुपमा निर्वाचन कार्यक्रमलाई स्थापित गर्नेतर्फ दलहरु जिम्मेवार हुनुपर्छ ।